साँढे दुई महिनामा हुम्लामा छपन्न सय भन्दा बढी पर्यटक भित्रिए

फोटो क्याप्सन मानसरोवर कैलाशको दर्शनका लागि सिमकोट बिमानस्थलमा आई पुग्नु भएका पर्यटकहरु ।

सि.टा. समाचारदाता
हुम्ला ।         मानसरोवर कैलाशको दर्शनका लागि साँढे दुई महिनामा हुम्लामा छपन्न सय भन्दा बढी पर्यटकहरु भित्रिएका छन् । नेपालगंजबाट सिमकोट हुँदै हिल्सासम्म जहाज र हेलिकोप्टबाट त्यसपछि पैदल मार्गबाट मानसरोवर कैलाश दर्शन गर्न का लागि पर्यटकहरुको आगमन भएको हो ।

मानसरोवर कैलाशको दर्शन गर्नका लागि हुम्ला भएर भित्रिने पर्यटकहरुको सङ्ख्या पाँच हजार ६५८ जना पुगेको पर्यटन ब्यवसायी बिष्णु बहादुर रावतले बताए । जिल्लामा भित्रिएका पर्यटकहरु मध्य दुई हजार ८१० महिला र दुई हजार ८४७ जना पुरुष रहेका छन ।

उहाँले पर्यटकहरु आगमन दर जेठमा उच्च रहेको भएपनि असार र साउन महिनामा बिस्तारै कम हुँदै गएको छ । महिना अनुसार पर्यटकहरुको आगमन दर भने यस्तो रहेको छ । जसमा बैशाखमा ११४ जना, जेठमा तीन हजार ७९९ जना, असारमा एक हजार ६६८ जना र साउनमा ७६ जना रहेका छन् ।

यसरी पर्यटकहरुआउनमा कमी हुनुमा चीनले भिसा लगाउने कार्यमा ढिलाई गरेको हो । यसवर्ष गत बैशाख ३० गतेबाट हुम्लामा मानसरोवर कैलाशको दर्शनका लागि पर्यटकहरुको आगमन सुरु भएको थियो । पर्यटकहरु आउन सुरु भएपछि सदरमुकाम सिमकोट र हिल्साका होटेलहरुको कमाई बृद्धि भएको छ ।

यस्ता पर्यटकहरुलाई सेवा प्रदान गर्ने होटेलहरु सिमकोट एघार वटा रहेका छन् भने हिल्सा चार वटा रहेका छन् । ती होटेलहरुले प्याकेजमा एक जना पर्यटकबाट एक रात वास, खाना र नास्ता गरि तीन हजार पाँच सय रुपियाँ लग्ने गर्छन । त्यसैगरि सिमकोट बिमानस्थलबाट पैतीस जना होटेलसम्म भारी ओसार्ने भरियाले काम पाएका छन ।

यसरी हिल्सामा पनि होटेलबाट चीनको सीमानासम्म भारी बोक्ने भरियाले पनि काम पाउदै आएका छन् । पर्यटकहरुको आगमनले सिमकोट आपसासका किसानहरुको तरकारीले पनि बजार पाउन सहज भएको छ । अर्को कुरा सिमकोट नाम्खा गाउँपालिकाले पर्यटकहरुबाट सरसफाई शुल्क पनि लिने गर्दै आएका छन् । पर्यटकहरुले आगमनले स्थानीयको आम्दानीमा टेवा पुर्याई रहेको छ ।