महिला केन्द्रित नीति प्रभावकारिता बढाउन स्थानीय संवाद सम्पन्न

सि. टा. समाचारदाता
सिमकोट ।      संयुक्त राष्ट्रसंघीय निकाय UN Women को UK International Development को आर्थिक सहयोग तथा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चसँगको सहकार्यमा सञ्चालित ‘हाम्रो साहस कार्यक्रम’ अन्तर्गत ‘महिला केन्द्रित नीतिहरूसम्बन्धी स्थानीय संवाद कार्यक्रम’ सम्पन्न भएको छ।

कार्यक्रम हुम्ली ढुङ्गा समूहका सदस्य श्री दीपेन्द्र लामा को सभाध्यक्षतामा, सिमकोट गाउँपालिकाका अध्यक्ष श्री विजय भण्डारी को प्रमुख आतिथ्यता तथा गाउँपालिकाकी उपाध्यक्ष श्रीमती सुशीला रोकाया को विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा सिमकोट गाउँपालिकाका योजना शाखा अधिकृत श्री उजिर रोकाया, कार्यपालिका सदस्यहरू, वडा नं. ३ का कार्यवाहक वडा अध्यक्ष तथा वडा सचिवलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा १० जना पुरुष र १६ जना महिला गरी जम्मा २६ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।

संवाद कार्यक्रममा सहभागीहरूले सिमकोट गाउँपालिकाले लैङ्गिक उत्तरदायी बजेटअन्तर्गत अवलम्बन गरेका नीति, योजना तथा सञ्चालन गरिएका कार्यक्रम, ती कार्यक्रम कार्यान्वयनका क्रममा सामना गर्नुपरेका चुनौती तथा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि तय गरिएका योजना र प्राथमिकताबारे जानकारी प्राप्त गरेका थिए।

कार्यक्रमको मुख्य उद्देश्य स्थानीय सरकारको समग्र बजेट, नीति तथा कार्यक्रमहरूले महिला, पुरुष, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक तथा पछाडि पारिएका समुदायका फरक–फरक आवश्यकता कति सम्बोधन गरेका छन् भन्ने विषयमा विश्लेषण गर्नुका साथै लैङ्गिक उत्तरदायी बजेटअन्तर्गत महिलामैत्री नीति, योजना तथा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय सरकारलाई आवश्यक सहजीकरण गर्नु रहेको जनाइएको छ।

कार्यक्रमका क्रममा ‘हाम्रो साहस परियोजना’ ले विगत एक वर्षदेखि सिमकोट गाउँपालिका–३ मा महिला लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी समेत गराइएको थियो। स्थानीय संवाद कार्यक्रमको सहजीकरण छतुप लामा ले गरेका थिए।