नीजि अस्पतालमा स्वास्थय विमा कार्यक्रम स्थगित

सि.टा. समाचारदाता
सिमकोट ।       स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका आकस्मिकबाहेक सबै स्वास्थ्य बिमा स्थगित गर्ने निर्णय गरेको छ । बोर्डले बढ्दो वित्तीय सङ्कटलाई कारण देखाउँदै यही जेठ १६ गतेदेखि निजी स्वास्थ्य संस्थामा स्वास्थ्य बिमा स्थगित गर्ने निर्णय गरेको हो ।

बोर्डले बोर्डको जेठ ११ गते बसेको बैठकको निर्णय अनुसार अर्को व्यवस्था नभएसम्म स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरिएको जनाएको छो । स्वास्थ्य बिमामा आबद्ध निजी स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा मात्रै सञ्चालन हुने छन् । बोर्डको निर्णयपछि निजी अस्पताल तथा मेडिकल कलेजहरूले सरकारको कदमप्रति असन्तुष्टि जनाएका छन् ।

बिमा सेवा सञ्चालनका लागि निजी अस्पतालहरूले ठुलो जनशक्ति तथा संरचनात्मक तयारी गरिनेछ । स्वास्थ्य बिमा बोर्डले बिमित नागरिकलाई प्रदान गरिने उपचार सेवासम्बन्धी खर्च तथा सुविधा थैली परिमार्जन गरेको छ । बोर्डको जेठ ११ गते बसेको बैठकले सुविधा थैली तेस्रो संशोधन गरेको हो । उक्त दररेट यही जेठ १६ गतेदेखि लागु हुने छ ।

बोर्डका अनुसार नयाँ व्यवस्था लागु भएपछि उपचार सेवाको शुल्क तथा औषधीको मूल्य पहिलेको तुलनामा थप व्यवस्थित हुने छ । संशोधित दररेट सरकारी अस्पतालमा प्रचलित शुल्कका आधारमा तय गरिएको छ । विभिन्न सङ्घीय सरकारी अस्पतालबाट उपचार सेवाको शुल्क विवरण सङ्कलन गरी औसत दर निर्धारण गरिएको छ ।

यसअघि प्याकेज प्रणालीमा आधारित सेवा भुक्तानी हुने व्यवस्था रहेकामा अब उपचारमा भएको वास्तविक खर्चका आधारमा भुक्तानी हुने व्यवस्था गरिएको थियो । यसअघि स्वास्थ्य बिमा अन्तर्गत औषधीको मूल्य निर्धारण महँगो भएको भन्दै आलोचना हुँदै आएको थियो । संशोधित सुविधा थैलीमा औषधीको दरसमेत घटाइएको छ ।