
जेठ १७
सिमकोट । हुम्ला जिल्लाको सिमकोट गाउँपालिका–२ र ३ अन्तर्गत लामा समुदायको ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित रलिङ गुम्बामा जेठ शुक्ल पूर्णिमाको अवसर पारेर मनाइने रलिङ पूर्णिमा पर्व यस वर्ष पनि भव्य रूपमा मनाइएकाे छ।

समुद्री सतहबाट करिब चार हजार मिटर उचाइमा अवस्थित रलिङ गुम्बामा आइतबार बिहानैदेखि बौद्ध तथा हिन्दु धर्मावलम्बी श्रद्धालुहरूको बाक्लो उपस्थिति देखिएको छ।
गुम्बामा पूजा–आराधना, धार्मिक अनुष्ठान, भजन–कीर्तन तथा विविध सांस्कृतिक कार्यक्रममार्फत पर्वलाई विशेष उत्साहका साथ मनाइएको स्थानीयले बताएका छन्।
जिल्लाकै प्रसिद्ध धार्मिक गन्तव्य तथा गुरु पद्मसम्भवसँग जोडिएको महातीर्थ रलिङ गुम्बा (सेल्मुगाङ अथवा सानो कैलाश) मा यस अवसरमा विशेष धार्मिक महोत्सवको आयोजना गरिएको छ।
सिमकोट गाउँपालिकाको सहयोगमा रलिङ व्यवस्थापन समिति र बुराउसे गाउँको आयोजनामा सञ्चालन गरिएको “रलिङ सेल्मुगाङ महोत्सव” घोडा वर्षको विशेष सागा दावा पर्वसँग समेत जोडिएकाले यसको महत्व अझ बढेको आयोजकले जनाएको छ।
बौद्ध धर्मगुरु पेमा रिक्साल रिन्पोछेको प्रमुख आतिथ्यतामा विश्व शान्ति, मानव कल्याण तथा सम्पूर्ण प्राणी जगतको सुख–समृद्धिको कामना गर्दै क्रोधीकाली पूजा, चिरायु पूजा लगायतका धार्मिक कार्यक्रम सञ्चालन भइरहेका छन्।
रलिङ पूर्णिमा का रूपमा परिचित यस पर्वमा सिमकोट, खार्पुनाथ , नाम्खा , सर्केगाड र चंखेली गाउँपालिकाका स्थानीयबासीका साथै जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयमा कार्यरत कर्मचारीहरू समेत गुम्बा मा पुगेर दर्शन समेत गरेका छन्।
आईतवार मध्यरातदेखि नै मोटरसाइकल, सवारीसाधन तथा पैदल यात्रा गर्दै श्रद्धालुहरू गुम्बातर्फ लागेका थिए।
पर्वका अवसरमा पूजा–आराधनासँगै देउडा गीत गाउने, नाचगान गर्ने तथा सामूहिक रूपमा रमाइलो गर्ने पुरानो परम्परा रहेको छ।
गुम्बामा धार्मिक कार्यक्रम सम्पन्न भएपछि श्रद्धालुहरू नजिकैको तोक्रा चौरमा भेला भई रमाइलो गर्ने, रातभर देउडा खेल्ने तथा त्यहीँ बास बस्ने चलन रहेको स्थानीयले बताएका छन्।
स्थानीय जनविश्वासअनुसार रलिङ पूर्णिमाका दिन गुम्बामा बाजागाजा बजाउनासाथ वर्षा हुने परम्परा रहँदै आएको छ।
सिमकोट सदरमुकामबाट छोटो दूरीमा रहेको रलिङ गुम्बामा यस वर्ष पनि हजारौँ श्रद्धालु पुगेका छन्। मेलामा सहभागी हुनेहरूको संख्या बढेसँगै सवारीसाधनको उल्लेखनीय चाप देखिएको छ भने सम्पूर्ण क्षेत्र धार्मिक तथा सांस्कृतिक उत्सवमय बनेको छ।























