दुर्गम बस्तीमै पुगेर पुरुष स्थायी बन्ध्याकरण सेवा तथा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन

फाेटाे क्याप्सन: विशेषज्ञ स्वास्थ्य शिविरमा पुरुष स्थायी बन्ध्याकरण सहित विभिन्न स्वास्थ्य सेवा प्रदान गर्दै स्वास्थ्यकर्मी टोली। तस्बिर : सि .टा

ऐटन रावल

सिमकोट ।           दुर्गम हिमाली जिल्ला हुम्लाको चंखेली गाउँपालिकामा पुरुष स्थायी बन्ध्याकरण सेवा (Vasectomy) सहित विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। दुर्गम बस्तीका नागरिकलाई स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त शिविरप्रति स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको छ।

जिल्ला अस्पताल हुम्लाको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजित शिविर चंखेली गाउँपालिकाका सबै ६ वटा वडाका नागरिकलाई लक्षित गरी गाउँपालिकाको वडा नं. ४ स्थित पिप्लाङको बर्थिङ सेन्टरमा आज पहिलाे दिन जेठ १९ गते मंगलबारदेखि सञ्चालन भएको हो। शिविर जेठ २० गतेसम्म सञ्चालन हुने गाउँपालिका अध्यक्ष प्यारिलाल शाहीले जानकारी दिनुभयो।

शिविरमा स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख विशेषज्ञ डाक्टर उमाकान्त तिवारी तथा ल्याब इन्चार्ज रबीन्द्र देवकोटासहितको स्वास्थ्यकर्मी टोलीको सहभागिता रहेको छ। शिविरमार्फत पुरुष स्थायी बन्ध्याकरण सेवा (Vasectomy), ल्याब सेवा, दन्त सेवा, हाडजोर्नी सेवा, भिडियो एक्स–रे सेवा लगायतका विभिन्न विशेषज्ञ स्वास्थ्य सेवाहरू प्रदान गरिएको छ।

स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डाक्टर उमाकान्त तिवारीका अनुसार पुरुष स्थायी बन्ध्याकरण सेवा (Vasectomy) र विशेषज्ञ स्वास्थ्य शिविरबाट महिला तर्फ २१४ जना तथा पुरुष तर्फ ११४ जना गरी जम्मा ३२८ जनाले सेवा लिएका छन्।

त्यसैगरी, ल्याब सेवाबाट ४७ जना, दन्त सेवाबाट ४२ जना, हाडजोर्नी सेवाबाट १६५ जना, पुरुष स्थायी बन्ध्याकरण सेवाबाट ५ जना तथा भिडियो एक्स–रे सेवाबाट २६ जनाले लाभ लिएका छन्।

साथै जनरल चेकजाँच तथा स्त्रीरोग सम्बन्धी सेवासमेत प्रदान गरिएको गाउँपालिका अध्यक्ष शाहीले जानकारी दिनुभयो।

शिविरमार्फत स्थानीय बासिन्दाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। परिवार नियोजनसम्बन्धी सचेतना अभिवृद्धि हुनुका साथै समुदायमा स्वास्थ्य सेवाप्रतिको विश्वास र जनचेतना समेत बढेको डाक्टर तिवारीले बताउनुभयो।

उहाँका अनुसार दुर्गम तथा स्वास्थ्य सेवाबाट वञ्चित नागरिकसम्म स्वास्थ्य सेवा पहुँच विस्तार गर्ने उद्देश्यअनुसार यस्ता विशेषज्ञ स्वास्थ्य शिविर तथा परिवार नियोजनसम्बन्धी कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने जानकारी दिनु भएकाे छ ।

चंखेली गाउँपालिकाका स्थानीयवासीले दुर्गम गाउँबस्तीमै विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न पाउँदा खुसी व्यक्त गरेका छन्।

उनीहरूले आगामी दिनमा पनि यस्तै प्रकारका स्वास्थ्य सेवा तथा शिविर नियमित रूपमा सञ्चालन गरिनुपर्ने अपेक्षा व्यक्त गर्दै शिविर सञ्चालनका लागि स्वास्थ्य सेवा कार्यालय हुम्लाप्रति धन्यवादसमेत दिएका छन्।

जिल्ला स्वास्थ्य कार्यालय हुम्लाका अनुसार पुरुष स्थायी बन्ध्याकरण सेवा (Vasectomy) तथा विशेषज्ञ स्वास्थ्य शिविर जेठ २० गतेसम्म सञ्चालन भई औपचारिक रूपमा सम्पन्न हुने जनाएको छ।