लिमिकाे टाक्चीमा रिसोर्ट सञ्चालन

सि.टा समाचारदाता
सिमकोट ।            नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीको टाक्चीमा रहेको लिमी रिसोर्ट सात महिनापछि सञ्चालनमा आएको छ ।

सो क्षेत्र प्रवेश गर्ने न्यालु लेकको सडकमा जमेको हिउ पन्छाउने कार्य भएर सडक सञ्चालनमा आएपछि उक्त रिसोर्ट पूनः सञ्चालनमा आएको हो ।

पाँच हजार १३० मिटर उचाईको नेपाली भुमी लाप्चाबाट मानसरोवर कैलाशको दरदर्शन गर्ने पर्यटकहरुका लागि लक्षित गरेर तीन वर्ष अगाडी सञ्चालनमा आएको रिसोर्ट बन्द गरिएको सात महिनापछि पूनः सञ्चालनमा आएको लिमीको जाङ गाउँका स्थानीय कुन्चोक तामाङले बताए ।

हिउद लागेपछि गत मंसीरबाट बन्द गरिएको उक्त रिसोर्ट पाँच हजार मिटर उचाईको न्यालु लेकको सडकमा जमेको हिउ पन्छाएर सडक सुचारु हुँदा लाप्चाबाट मानसरोवर कैलाशको दुरदर्शन गर्ने पर्यटकहरु आउन सुरु भएसंगै सो रिसोर्ट पनि सञ्चालनमा आएको हो ।

यतिबेला पूनः सञ्चालनमा आएको उक्त रिसोर्ट अब आगामी मंसीर महिनासम्म सञ्चालनमा आउनेछ । स्थानीय परिकारका साथै सो रिसोर्टबाट पर्यटकीय क्षेत्रहरुको दृश्यवलोकन गर्न पनि सकिन्छ ।

आन्तरिक पर्यटकहरुका लागि तीन छाक खाना र वासका लागि प्रति पर्यटक दुई हजार पाँच सय रुपियाँ र बाह्रय पर्यटकहरुका लागि प्रति पर्यटक तीन हजार पाँच सय रुपियाँ रिसोर्टले चार्ज लिने गर्छ र त्यसमा दश प्रतिशत छुट पनि दिन गरिएको छ । रिसोर्टले खानेकुरामा स्थानीय परिकार खुवाउने गरिन्छ । साथै याकको सुकुटी पनि उपलब्ध हुने गर्छ ।

उक्च क्षेत्रमा सञ्चालन गरिएकोले रिसोर्टले अक्सिजनको पनि ब्यवस्था गरेको छ । हरेक वर्ष हिउदेयाममा हिमपातले सडक बन्द हुने भएको कारण हिउदमा बन्द गर्ने गरिन्छ । हालसम्म लाप्चाबाट मानसरोवर कैलाशको आन्तरिक तथा बाह्य पर्यटकहरुको सात वटा समुहले दुरदर्शन गर्ने कार्य गरि सक्नु भएको छ । गतवर्ष एक हजार आठ सय आन्तरिक तथा बाह्य पर्यटकहरु भित्रीईका थिए ।