छरपुष्ट बग्ने पानीका लागि ब्यवस्थित धारा निर्माण

फोटो क्याप्सन छरपष्ट रुपमा बग्ने मुलको पानीलाई मानिस र पशुको प्रयोगका लागि छुट्टाछुट्टै रुपमा निर्माण गरिएका धारा । तस्बिर : सि.टा.

सि.टा. समाचारदाता
सिमकोट ।         अव्यवस्थित र छरिएर बग्ने मुलको पानीका लागि ब्यवस्थित धारा निर्माण गर्ने कार्य सम्पन्न भएको छ । उपभोक्तालाई पानी भर्न र पशुवस्तुलाई पिउनका लागि छुट्टाछुट्टै धारा निर्माण गर्ने कार्य गरेर सो मुलको पानीलाई ब्यवस्थित बनाउने कार्य गरिएको हो ।

मुलबाट बग्ने पानीलाई मानिस तथा पशुबस्तु हिड्ने बाटोमा छरपुष्ट रुपमा बगी रहेको बेला त्यसलार्ई ब्यवस्थित रुपमा आधुनिक धारा निर्माण गरेर सो पानीलाई ब्यवस्थित गर्ने कार्य गरिएको खार्पुनाथ गाउँपालिका– ५ को दुर्पा गाउँका स्थानीय चतुर सिंह बुढाले बताए । मुहानको पानीलाई माथि पक्की धारा निर्माण गरेर माथि मानिसहरुको लागि र त्यसैको तल पानीलाई पशुबस्तुलाई पिउनका लागि धाराहरु स्यानो ट्याङ्की निर्माण गरिएको छ ।

यी दुवै किसिमका धाराहरु निर्माण गरेर सञ्चालनमा समेत आई सकेको छ । अब्यवस्थित र खेर जाने मुलको पानीलाई मानिसको प्रयोगका लागि एउटै लाईनमा आठ वटा धारा निर्माण गरेर पानी खसालिएको वडा अध्यक्ष भरतजंग शाहीले बताए ।

त्यसैको तल पाँच वटा धारा निर्माण गरेर पानी सानो खाले निर्माण गरिएको ट्याङ्कीमा खसाल्ने ब्यवस्था गरि पशुबस्तुलाई पिउन पनि सहज भएको उनको भनाई छ । हेर्दा पनि सुन्दर र ब्यवस्थित धाराहरु निर्माण गरेकोमा उपभोक्ताहरुलाई उनले धन्यवाद समेत दिए ।

स्थानीयको मागलाई ध्यानमा राखेर ती धाराहरु निर्माण गरिएको खानेपानी सिंचाई तथा उर्जा बिकास कार्यालयका प्रमुख ज्वालाराज शाहीले बताए । यो काम उपभोक्ता समितिबाट गरिएको र कार्यालयसंग सम्झौता भएको तीन महिनामा सम्पन्न भएको हो ।

दुर्पा गाउँका ५७ घरधुरी उक्त धाराबाट लावान्भित हुने र एक हजार भन्दा बढी पशुबस्तुलाई पनि राहत भएको स्थानीयले बताएका छन । यी धारा निर्माणका लागि कार्यालयबाट सत्र लाख बजेट बिनीयोजित गरिएको र त्यसको बीस प्रतिशत उपभोक्ताहरुको योगदान पुर्याएको कार्यालयले जनाएको छ ।