सि.टा. समाचारदाता
सिमकोट । खुद्रा तथा थोक बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपियाँमा चिनी बेचिने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको अभाव नरहेको स्पष्ट पारेको हो ।
विभागका अनुसार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको अध्यक्षतामा सरोकारवालासहित बसेको बैठकको सहमति अनुसार उपत्यकाका विभिन्न बिक्री केन्द्रबाट चिनी सहज रूपमा उपलब्ध गराउने व्यवस्था गरेको जनाएको छ । चाडपर्व नजिकिँदै गर्दा बजारमा चिनी अभाव हुन थालेको र मूल्य बढाइएको भन्ने गुनासो सार्वजनिक भएसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत लिएर उपत्यकाका खुद्रा तथा थोक व्यापारीलाई प्रतिकेजी ११० रुपियाँ चिनी बिक्रीको व्यवस्था गरेको हो ।
मन्त्रालयका अनुसार उपत्यकाका नेपाल खुद्रा व्यापार सङ्घ, नेपाल खाद्य किराना तथा थोक सङ्घ, भाटभटेनी सुपरमार्केट, बिगमार्ट, सेल्सबेरीलगायतबाट चिनी प्रतिकेजी ११० रुपियाँमा पाउने व्यवस्था गरिएको छ । मन्त्रालयका आपूर्ति महाशाखाले उपत्यकामा भोलिदेखि नै चिनी सहज हुने र प्रतिकेजी ११० रुपियाँमा पाइने जानकारी दिएको छ । कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत भारतबाट एक प्रतिशत भन्सारमा २५ हजार मेट्रिक टन चिनी आयात गर्ने निर्णय भएको छ भने नेपालका उद्योगबाट २० हजार मेट्रिक टन गरी ४५ हजार मेट्रिक टन चिनी खरिद भएपछि कात्तिकसम्म पुग्छ । त्यसपछि बिस्तारै नेपालकै उद्योगीले नयाँ चिनी उत्पादन हुन्छ ।
मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत प्रतिकेजी १०५ रुपियाँमा लिएर खुद्रा पसल र थोक व्यापारीले प्रतिकेजी ११० रुपियाँमा उपलब्ध गराउनुपर्ने छ । भाटभटेनी सुपरमार्केट, बिगमार्ट, सेल्सबेरीलगायतबाट डिपार्टमेन्ट स्टोरले पनि नोक्सान नै भए पनि आजैदेखि प्रतिकेजी ११० रुपियाँमै बेच्न सहमत भएको महाशाखाले जनाएको छ । कर्पोरेसनका अनुसार सरकारको निर्देशन नुसार खुद्रा र थोक व्यापारीलाई प्रतिकेजी १०५ रुपियाँमा चिनी बिक्री गर्न थालेको छ । नेपालमा वार्षिक तीन लाख मेट्रिक टन चिनी माग रहेको र नेपालमा एक लाख मेट्रिक टन मात्रै उत्पादन हुने गरेको र बाँकी भारतबाट ल्याउनुपर्ने तर पछिल्लो पटक भारतले आफ्नै देशमा अभाव भएपछि निर्यात कडाइ गरेपछि नेपालमा अहिले समस्या आएको हो ।
मन्त्रालयका अनुसार नेपालमा माग हुने चिनीको ४० प्रतिशत चिनी उद्योगको प्रयोजन (कोकाकोला, पेप्सी, मिठाई उद्योग) मा प्रयोग हुने गरेको छ भने ६० प्रतिशत चिनीले आमउपभोक्ताको माग धान्ने गरेको छ । उद्योगीले आफूलाई आवश्यक पर्ने चिनी पहिले नै मौज्दात गरिसकेको अहिले आवश्यक आमउपभोक्तालाई मात्रै भएको हो ।
सरकारको निर्णय अनुसार भारतबाट भन्सार छुटको चिनी आउन थालिसकेको छ र दसैँअगाडि नै सबै चिनी आइसक्छ । एक महिनादेखि अधिकांश खुद्रा व्यापारीले चिनी बिक्री गर्न छोडेको र साल्ट ट्रेडिङ कर्पोेरेसनबाट चिनी लिएर प्रतिकेजी ११० रुपियाँमा उपभोक्तालाई सेवा गरिनेछ ।
























