सि.टा. समाचारदाता
सिमकोट ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार राति पाँच प्रदेशको विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा तथा लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका एक, दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
आइतबार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग तथा कर्णाली प्रदेशको पहाडी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
सोमबार पनि देशभर साधारणतया बादल लाग्ने छ । सो दिन देशको पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।









