एक वर्षमा नयाँ बीस वटा विद्यालय भवन निर्माण

सि.टा. समाचारदाता
सिमकोट । आर्थिक वर्ष ०८२।०८३ मा जिल्लाभर बीस वटा नयाँ विद्यालय भवन निर्माण भएर विद्यालयलाई हस्तान्तरण गरिएका छन् । विद्यालयको आवश्यकताका आधारमा ती भवनहरु कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा सामाजिक बिकास कार्यालयले निर्माण गरेको हो ।

एक आर्थिक वर्षमा जिल्लाका छ वटा गाउँपालिकामा वीस वटा नयाँ विद्यालय भवनहरु निर्माण कार्य सम्पन्न गरि सम्वन्धित विद्यालयलाई हस्तान्तरण गरिएको सामाजिक बिकास कार्यालयका प्रमुख इश्वरबहादुर सिंहले बताए । यी भवनहरु दुई, तीन, चार र छ कोठे निर्माण गरिएका छन् ।

विद्यालयको मागमा आधारित रहेर योजना तर्जुमा गरि सबै भवनहरु निर्माण गरिएका हुन । सवै भवनहरुको निर्माण कार्य छ देखि दश महिनासम्म सम्पन्न भएका थिए ।

भवन निर्माण भएर विद्यालयलाई हस्तान्तरण गरिएपछि सञ्चालनमा समेत आएका छन् । यी भवनमा ४६ वटा कोठा निर्माण भएका छन् । यसले पठनपाठनमा समेत सहजता ल्याउन सहयोग पुगेको बिस्वास उनले ब्यक्त गरे ।

विद्यालय भवनहरु सिमकोट गाउँपालिकामा तीन वटा, खार्पुनाथ गाउँपालिका छ वटा, सर्केगार्ड गाउँपालिका तीन वटा, चङ्खेली गाउँपालिकामा तीन वटा, अदानचुली गाउँपालिका चार वटा र ताँजाकोट गाउँपालिकामा एउटा निर्माण गरिएको छ । सबै भवनहरु पक्की र भुकम्प प्रतिरोधी डिजाईनमा निर्माण गरिएको कार्यालयका सवईन्जिनीयर धर्मराज बोहराले बताए ।

यसअघि माटो र ङ्गाको गाह्रो लगाउने कार्यलाई विदा दिएर आरसिसि भवन निर्माण गरिएको कारण विद्यालयहरु सुरक्षित समेत रहने छन ।

यी भवनहरुको लागत तीसदेखि नब्बे लाख वजेटमा निर्माण गरिएका छन । यसका लागि कुल २१ करोड ३३ लाख ३२ हजार ६७४ रुपियाँ लागेको थियो । भवनहरु तीस लाख भन्दा न्यून वजेटका विद्यालय ब्यवस्थापन समिति र सो भन्दा बढी वजेटका भवन टेण्डर आवहान गरेर निर्माण गरियकाे हाे ।