सिमकोट बजारको अनुगमन

  • सि.टा समाचारदाता

सिमकोटको बजार क्षेत्रको अनुगमन गर्ने कार्य भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको आयोजनामा बजारका पसलहरुको अनुगमन गर्ने कार्य भएको छ ।
अनुगमनका क्रममा पाँच वटा पसलहरु कारवाहीमा परेका छन् । बजार अनुगमनका क्रममा ती पसलहरुमा म्याद नाँघेको सामान बिक्री बितरण गरि रहेको पाईएपछि अनुगमन टोलीले नियमानुसार कारवाही गरेको हो ।

आईतबार सिमकोटका एघार वटा पसलहरुको अनुगमन गर्ने क्रममा उपभोक्ताहरुले प्रयोगका लागि समय सिमा नाँघेका दैनिक उपभोग्य सामानहरु बिक्री गरेको पाईए पछि ती मध्य पाँच वटा पसलहरुलाई कारवाही गरिएको आयोजक उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमु श्रीबहादुर बिष्टले बताए । पहिलो पटक म्याद नाँघेका सामान बिक्री गरेको पाईए पछि जनही पाँच हजार रुपियाँ जरिवाना सहित चेतावनी समेत दिइएको उनले बताए । यसरी जरिवाना गरिएका पसलहरुमा टि सप्लायर्स, हुम्ला ए टु जेट, मालिका महादेव, रावत सपिङ सेन्टर र किन मेल सप्लायर्स रहेका छन् ।

चाडवाड लक्षित बजार अनुगमन गर्ने क्रममा पसलबाट एक वर्षसम्म उपभोगका लागि समय नाँघेका सामानहरु बिक्री भई रहेको पाईएको थियो । म्याद नाँघेका सामानहरुमा चाउचाउ, बिष्कुट, चिउरा, भुजा, फुरनदाना, मसला, पेय पदार्थ लगाएतका सामानहरु रहेका थिए । ती सामानहरु सबै अनुगमन टोलीले नियन्त्रणमा लिएको छ र सबै पक्षको रोहवरमा नष्ट गरिने उनले बताए । अन्य छ वटा पसहरुको पनि अनुगमन गरिएकोमा ती पसलहरुमा त्यस्ता म्याध नाँघेका सामानहरु भेटिएका थिएनन् । यसवाट पहिलो पटक अनुगमनबाट ब्यापारीहरुलाई जरिवाना गरेर नगद असुली गर्ने कार्य भने भएको छ ।