टेलिकमको इन्टरनेट प्रयोगकर्ता

सि.टा. समाचारदाता
सिमकोट ।      सरकारी लगानीको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले उपलब्ध गराइरहेको फाइबर टु दी होम इन्टरनेट जडान गर्नेको सङ्ख्या बढ्न थालेको छ । बजारको तुलनामा सस्तो प्याकेज उपलब्ध गराएपछि इन्टरनेट जडान गर्ने ग्राहकहरुको चाप बढेको टेलिकमले जनाएको छ ।

टेलिकमले बिहीबार मात्रै ३० एमबिपिएस क्षमताको सबैभन्दा सस्तो प्याकेज घोषणा गरेको छ । शुक्रबारदेखि लागु हुने यो प्याकेज ग्राहकहरुले एक वर्षका लागि चार हजार ९९९ रुपियाँमा जडान गर्न सक्ने टेलिकमले जनाएको छ ।

अर्थात् मासिक ४१७ रुपियाँमै ग्राहकहरुले टेलिकमको यस्तो इन्टरनेट जडान गर्न सक्छन् । यसबाहेक टेलिकमले निःशुल्क जडान सुविधासहित एकसय, एकसय ५० र दुईसय एमबिपिएस प्याकेजलाई बजारभन्दा सस्तो मुल्यमा उपलब्ध गराइरहेको छ । त्यससँगै दैनिक एक जीबी मोबाइल डेटा प्रयोग गर्न सकिने सुविधा कम्पनीले थप गरेको छ।

कम्पनीका अनुसार देशैभर टेलिकमको एफटीटीएच नेटवर्क पुगेको ठाउँमा ग्राहकले सस्तो इन्टरनेट प्रयोग गर्न सक्छन् । सस्तो प्याकेज देशैभर टेलिकमको नेटवर्क भएको ठाउँमा उपलब्ध हुनेछ ।गुणस्तर पनि सबै ग्राहकले समान पाउनेछन् ।

टेलिकमले बिहीबार सार्वजनिक गरेको फिक्स्ड इन्टरनेट प्याकेजबारे प्रधानमन्त्रीले फेसबुकमा पोस्ट गरेपछि इन्टरनेट जडान गर्न चाहनेको चासो बढेको हो । एनटी फाइबर’ नाम दिइएको यो इन्टरनेट अहिले ७७ जिल्लाको चारसय पालिकाको केन्द्र र मुख्य बस्तीभएको ठाउँहरुमा उपलब्ध रहेको टेलिकमले जनाएको छ।

टेलिकमका अनुसार कम्पनीले बजारको आवश्यकता र मागका आधारमा सस्तो प्याकेज उपलब्ध गराएको हो। अहिले बजारमा साना प्याकेज नरहेको अवस्थामा टेलिकमले उपलब्ध गराएको सस्तो प्याकेजबारे उपभोक्ताको चासो बढेको उहाँले बताउनुभयो। खासगरी विद्यार्थी र चारजना सदस्य भएका परिवारका लागि सस्तो प्याकेज उपयुक्त हुने छ ।