यसवर्ष खुर्सानी कम फल्यो बारीमा

खार्पुनाथ गाउँपालिकाको छिप्रा गाउँमा किसानले लगाएको बारीमा कोसा नलागेका खुर्सानीका बोटहरु । तस्बिर : राजन रावत, हुम्ला
  • सि.टा. समाचारदाता
    सिमकोट । बारीमा लगाएको खुर्सानीका कोसा नलागे पछि किसान चिन्तित भएका छन् । पहिले खडेरी पर्नु र अहिले धेरै वर्षा भएपछि खुर्सानी कम फलेको हो ।
    खार्पुनाथ गाउँपालिका– ४ को छिप्रा गाउँकी रुगुबिना उपाध्याले बारी लागेको खाली बोट देखाउदै यसवर्ष खुर्सानी नै नफलेको बताईन । गत वर्ष खुर्सानी निक्कै राम्रो फलेको बताउदै उनले यस पाली भने एउटा बोटमा मुस्किलले चार पाँच कोसा खुर्सानी फलेको बताईन । खुर्सानी नफलेपछि यस पटक आम्दानी समेत घट्ने उनले बताईन । गत वर्ष यतिबेला आफुले उत्पादन गरेको खुर्सानी बिक्री गरेर कमाई गर्न सफल भएकोमा यस वर्ष भने कमाई नै नभएको गुनासो उनले गरिन । गतवर्ष उपाध्यायले साठी हजार रुपियाँ खुर्सानी बिक्रीबाट कमाई गरेकी थिईन ।
    यता सोही वडाको माजा गाउँकी लालकोषा रावतले पनि खुर्सानी राम्रो नफलेकोमा चिन्ता ब्यक्त गरिन । खडेरीको बेला आफुले बोकेर पानी खुर्सानीको बोटमा हालेको सम्झदै उनले त्यो श्रम सबै खेर गएको बताईन । सधै खुर्सानी बिक्री गर्ने आफु यस वर्ष भने आफैले किनेर खाने अवस्था आउने उनले बताईन । उनले बढी वर्षा भयो भने खुर्सानी नफल्ने गरेको सुनाईन । अघिल्लो वर्ष रावतले पैतीस हजार रुपियाँ खुर्सानी बिक्रीबाट कमाई गरेकी थिईन ।
    खार्पुनाथ गाउँपालिका– ५ को याङ्चु गाउँका धनबहादुर परियारले आफ्नो बारीमा लगाएका खुर्सानी बोटमा कोसा नै नलागेको बताए । बोट लागे पनि कोसा नलागेको कारण फल बिनाका बोटहरु बारीमा रहेको उनको भनाई रहेको छ । यस वर्ष खुर्सानी खेतीमा गरिएको परिश्रम त्यसै खेर गएको उनको भनाई रहेको छ । परियारले गएको वर्ष पैतालीस हजार रुपियाँ खुर्सानी बिक्रीबाट कमाई गर्न सफल भएका थिए । खडेरी र बढी वर्षको कारण खुर्सानी खेतीमा समस्या आएको किसानको भनाई रहेको छ । आवश्यक भन्दा बढी पानी परे खुर्सानी खेतीका लागि राम्रो नहुने भएको कारण यस पाली बोटमा खुर्सानीका कोसा कम लागेको उनीहरुले आफ्नो अनुभव सुनाए ।
    एन्साव नेपालका कृषि प्राविधिक राजन शाहले गुणस्तरीय बीउ नभएको कारण खुर्सानी नफलेको बताए । अर्को कुरा माटोको परिक्षण नभएको कारण पनि भएको उनले बताए । खुर्सानी फल्ने समयमा पानी परेको कारण पनि फुल झरेको कारण पनि खुर्सानी नफलेको हुन सक्ने उनले बताए । खुर्सानी नफल्नुको कारणहरु धेरै हुन सक्ने भएकोले यसका लागि स्थलगत अध्ययन गर्न आवश्यक रहेको उनले बताए ।