टी–२० अन्तर्राष्ट्रिय सिरिजः आफ्नो दोस्रो खेलमा ओमानसँग भिड्दै नेपाल

सि.टा. समाचारदाता

क्यानडामा रहेको नेपाली राष्ट्रिय टिमले टी–२० अन्तर्राष्ट्रिय सिरिजमा आज ओमानको सामना गर्दै छ। क्यानडाको किंग सिटीमा नेपाली समयअनुसार खेल राति ९ः४५ मा सुरु हुनेछ। लगातारको खराब प्रदर्शनले आजित नेपाल आज जित निकाल्ने प्रयासमा हुनेछ।

टी–२० आई सिरिजको पहिलो खेलमा शनिबार घरेलु टोली क्यानडासँग १४ रनले पराजित भएको नेपालले १ सय २४ रनको सामान्य लक्ष्य पनि पूरा गर्न सकेन। नेपाल १९ ओभरमै १ सय ९ रन बनाउँदा अलआउट हुन पुगेको थियो।

ओमानको यो जारी सिरिजमा पहिलो टी–२० खेल हो। दुवै टोली सिरिजमा पहिलो जितको खोजीमा हुनेछन्। यसअघि नेपालले विश्वकप क्रिकेट लिग–२ को खेलमा पनि जितविहीन रह्यो। ३ खेल हारेको नेपाल अन्तिम खेलमा वर्षाका कारण १ अङ्क प्राप्त गर्न सफल भएको थियो।

क्यानडा टुरमा नेपाल लगातार खराब ब्याटिङको सिकार हुँदा दबाबमा छ। अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले १७ अप्रिल पछि कुनै पनि खेल जित्न सकेको छैन। यसबीच नेपालले ११ अन्तर्राष्ट्रिय खेल खेलिसकेको छ।

नेपाल र ओमानबीच ६ पटक टी–२० मा प्रतिस्पर्धा भएको छ। जसमा दुवै टीमले समान ३–३ जित हासिल गरेका छन्। पछिल्लो पटक गत वर्ष आईसीसी एसिया छनोटको फाइनल खेलमा नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रन मात्र बनाए पछि खेल बराबरी भएको थियो। उक्त खेल ओमानले सुपर ओभरमा जितेको थियो।