सि.टा. समाचारदाता
सिमकोट । आगामी मंसीर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि जिल्ला तीन ठुला दलहरु सर्केगार्ड गाउँपालिकाको केन्द्रमा केन्द्रीत हुन थालेका छन् । आफ्नो पार्टीको तर्फबाट उम्मेदवारको नाम सिफारिस गर्ने दिन नजिकिएसंगै दलका बैठकहरु सर्केगार्डमा केन्द्रीत हुन थालेका हुन ।
उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्नका लागि नेपाली काँग्रेस क नम्बर प्रदेशको बैठक शुक्रबार सर्केगार्डमा बस्दैछ । सो पार्टीका वडा कार्य समितिबाट प्रदेशमा नाम सिफारिस भई सकेको छ । हाललाई वडाबाट सिफारिस भएका नामहरु काँग्रेसले सार्वजनिक गरेको छैन । काँग्रेस वडा कार्य समितिबाट चार जनाको नाम सिफारिस भएको अडकल गरिएको भएपनि ती नामहरु सार्वजनिक भएका छैनन् । वडाबाट सिफारिस भएका नामहरु शुक्रबार गाउँपालिका र क नम्बर प्रदेशको सम्युक्त रुपमा बस्ने बैठकमा छलफल गरेर जिल्लालाई सिफारिस गरिने छ । काँग्रेसले जिल्ला कार्य समितिको बैठक कातिक २४ गते सिमकोटमा राखेको छ । काँग्रेसबाट उम्मेदवारको आकाक्षीमा सविता ऐडी, चन्दा फडेरा, शुशिला शाह र बसन्ती शाही रहेको पाईएको छ । संभवत शुक्रबार बस्ने प्रदेशको बैठकले एकल नाम सिफारिस गर्ने चर्चा पनि रहेको छ ।
त्यसैगरि नेकपा माओवादी केन्द्रले यसअघि कातिक ५ र ६ गते सर्केगार्ड गाउँपालिकामा बसेको पार्टीको पुर्ण बैठकले नेताहरुलाई मत सर्वेक्षण गर्न वडा स्तरमा खटाएको थियो । आठ वटै वडामा खटिएको टोलीले मत सर्वेक्षणको प्रतिवेदन कातिक २३ गते शुक्रबार सर्केगार्ड मै वस्ने पार्टीको वैठकमा पेश गरिनेछ । माओवादी केन्द्रका तर्फबाट पनि संभावित उम्मेदवारको नाममा अनेम संघकी जिल्ला अध्यक्ष कुशुम कार्की, देवकी तिमिल्सीना र जसकला बुढा (जलजला ( को नाम चर्चामा रहेको छ ।
त्यसैगरि एमाले पनि जिल्ला कमिटीको बैठकका साथै अगुवा कार्यकर्ता भेला पनि सर्केगार्ड मै राखेको छ । सर्केगार्डमा बिहीबार दिउसो १ बजेबाट जारीे वैठकले उम्मेदवारको नाम टुङ्गो लगाउने एमाले जनाएको छ । त्यसका लागि एमालेका नेताहरु सर्केगार्डतर्फ लागि सकेका छन् । एमालेमा पनि तीन जनाको नाम चर्कामा रहेको छ । एमालेको तर्फबाट रमा काफ्ले, जुनकौरा फडेरा लगाएतको नाम चर्चामा रहेको छ । तीन वटै दलबाट यी नामहरु आकांक्षी रहेको भएपनि दलहरुले भने आफ्नो उम्मेदवारको नाम तोक्ने कार्य गरेका छैनन् । सर्केगार्डमा मंसीर १६ गते रिक्त रहेको उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । सो गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सडक दुर्घटनामा पनि मृत्यु भएको थियो ।
समाचार
















