सि.टा. समाचारदाता
सिमकोट । जाजारकोट जिल्लाका सोमवार दुई वटा सडक दुर्घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार कुदुमा फोर्स गाडी दुर्घटना हुँदा २५ जना घाइते भएका छन् भने नलगाडमा भएको बोलेरो दुर्घटनामा सात जना घाइते भएका छन् ।

जाजरकोटका प्रहरी प्रमुख पुरूषोत्तम पाण्डेका अनुसार बा.४ख १८९२को फोर्स गाडी भेरी नगरपालिका–१३ कुदुमा दुर्घटना भएको हो। गाडीमा रहेका २५ जना यात्रु घाइते भएको र उनीहरूको उद्धार गरेर अस्पताल पठाइएको उनले बताए। घाइते मध्ये चालक प्रतिक चन्दको अवस्था गम्भीर रहेको उनले जानकारी दिए । बाँकेको नेपालगन्जबाट सदरमुकाम खलङ्गा जाँदै गरेको फोर्स गाडी १२ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यस्तै जाजरकोटको नलगाड नगरपालिका–४ को बाउसेखोलामा बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
बारेकोट गाउँपालिकाबाट सदरमुकाम खलङ्गा जाँदै गरेको घ.१.ज. ५९५ नम्बरको बोलेरो सोमबार बिहान साढे १० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।७० वर्षीया ओइला घर्ती, ७१ वर्षीया तुलसी पुन, ६० वर्षीया धनकली थापा, २२ वर्षका आकाश घर्ती, ७८ वर्षीया निलु सिंह, ८० वर्षीया पद्मी घर्ती र ७० वर्षीया जैकली रोकाय घाइते भएका छन् । दुर्घटना घाइते भएका सबै यात्रु बारेकोट(२ लिम्साका हुन् ।
















