
लोग भण्डारी
सिमकोट । चिनीयाँ नागरिकद्धारा हुम्ला जिल्लाको सिमकोट गाउँपालिका– ३ का दलित घरधुरीलाई खाद्यान्न सहयोग गरिएको छ । चिनीयाँ नागरिकले सामाजिक सेवाभावका हिसावले दलित घरधुरीलाई खाद्यान्न सहयोग गर्नु भएको छ ।
सो वडाका वडा अध्यक्ष पामा लामाले चीनको ताक्लाकोटमा रहँदै आएका चिनीयाँ नागरिकले आफ्ना वडाका ४१ घरधुरीका दलितहरुलाई खाद्यान्न सहयोग गर्नु भएको बताए । चिनीयाँ नागरिकले नितान्त मानवीय सेवाका हिसावले खाद्यान्न सहयोग गरेको र त्यसका लागि वडा अध्यक्ष लामाले सहजिकरण गर्नु भएको हो ।
उहाँले चिनीयाँ नागरिकले नगद पठाएको र सल्लाह अनुसार जिल्लामा खाद्यान्न खरिद गरि प्रत्येक घरधुरीलाई पच्चीस केजीको एक बोरा चामल र एक लिटर तेल सहयोग गरिएको जानकारी दिए । वडा अध्यक्ष लामाले खाद्यन्न वडा मै लिएर बितरण गर्नु भएको थियो । न्यून आयश्रोत भएका दलित घरधुरीका सदस्यहरु खाद्यान्न सहयोग पाएपछि खुसी हुनु भएको छ । ती चिनीयाँ नागरिकले यसअघि पनि खाद्यन्न सहयोग गर्नु भएको थियो ।















