सि.टा. समाचारदाता
सिमकोट । सरकारले आमाको नामबाट मात्र नागरिकता पाउने सक्ने गरी विधेयक संसद्मा ल्याएको छ। ‘नेपाल नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक’मा आमाको नामबाट मात्र नागरिकता पाउन सकिने व्यवस्था गरिएको हो।
नेपाली नागरिकताको प्रमाणपत्र र कुनै व्यक्तिले नागरिकताको प्रमणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहेको भनी निवेदन दिएमा त्यस्तो व्यक्तिलाई दिइने नेपाली नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर तथा ठेगाना उल्लेख हुनुपर्ने स्थानमा कुनै बेहोरा उल्लेख नगरी दिनुपर्नेछ’ प्रस्तावित विधेयकको दफा ४ मा भनिएको छ।
विधेयकले मूल ऐनको दफा ८ लाई संशोधन गर्न लागेको हो। मूल ऐनको दफा ८ मा नागरिकताको प्रमाणपत्र प्राप्तिको लागि निवेदन दिनु पर्ने व्यवस्था छ। दफा ८ को उपदफा १ मा वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने १६ वर्ष उमेर पूरा भएको व्यक्तिले तोकिएको अधिकारी निवेदन दिनु पर्ने व्यवस्था छ ।
उक्त दफामा नागरिकताको प्रमणपत्रमा कुनै व्यक्तिले बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहेको भनी निवेदन दिएमा त्यसअनुसार नागरिकता दिनुपर्ने व्यवस्था राख्ने प्रस्ताव गरेको हो।
प्रस्तावित विधेयकको दफा २ मा बाबुको पहिचान नखुलेको र सम्पर्कमा नरहेको घोषणा गर्न पाइने प्रस्ताव गरिएको छ। ‘कुनै व्यक्तिको जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्रमा बाबुको नाम उल्लेख भए तापनि निजको बाबुको अन्य पहिचान नखुलेको र हाल सम्पर्कमा नरहेको भनी निजले स्वःघोषणा गरेमा त्यस्तो व्यक्तिको बाबुको पहिचान नभएको मानिनेछ । प्रस्ताविक विधेयकको दफा २ को उप दफा ५ (क)मा भनिएको छ।
























