सि.टा. समाचारदाता
सिमकोट । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले रैथाने बाली खरिद केन्द्र स्थापना गर्ने भएको छ । गाउँपालिकासंगको समन्वय र सहकार्यमा खरिद केन्द्र यस आर्थिक वर्षका स्थापना गर्न लागिएको हो ।
लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्ण थापा मगरका अनुसार जिल्लामा उत्पादन हुने रैथान बालीको प्रर्बद्धन गर्नका लागि सात वटै गाउँपालिकामा रैथाने बाली खरिद केन्द्र स्थापना गर्न लागिएको छ । स्थानीय स्तरमा रैथाने बाली खरिदमा किसानको पहुँच पुर्याउन यो प्रयास लिमिटेडले गर्न लागेको हो ।
हाल लिमिटेडले शाखा, डिपो र बिक्री केन्द्रबाट सात वटै गाउँपालिकाका सर्वसाधारणलाई ढुवानी अनुदानको खाद्यान्न बिक्री गर्दै आएको छ । खाद्यान्न बिक्रीका लागि सात वटै गाउँपालिकामा नौ वटा संरचना लिमिटेडले स्थापना गरेको छ । अब प्रत्येक गाउँपालिकामा एक एक वटा बिक्री केन्द्र स्थापना गर्ने गरि सिमकोट, सर्केगार्डर ताँजाकोट गाउँपालिकासंग सहमति भई सकेको र बाँकी चार वटा गाउँपालिकासंग पनि चाँडै सम्झौता गर्ने तयारीमा लिमिटेड रहेको छ ।
खरिद केन्द्र स्थापनाका लागि गाउँपालिकाले भवनको ब्यवस्था र तीन महिनाका लागि ढुवानी अनुदानको खाद्यान्न बिक्री हुने सुनिश्चितता गर्नुपर्ने हुन्छ । जनशक्ति र आवश्यक अन्य श्रोत भने लिमिटेडले गर्ने छ । खरिद केन्द्र स्थापना भएपछि लिमिटेडले किसानबाट खरिद गरेको रैथाने बाली सिधै ढुवानी गरेर सुर्खेत हुँदै काठमाडौंसम्म पुर्याउने छ । हुम्लाका रैथान बालीहरु चिनो, कागुनो, सिमी, कोदो, उवा, उवा लगाएत दुई वर्ष अगाडीबाट शाखाबाट खरिद गरेर लिने गर्दै आएको छ ।
















