सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेशका बाह्र वटा माध्यमिक विद्यालयका बिज्ञान बिषयको सुधार कार्यक्रम लागु भएको छ । यी विद्यालयमा कक्षा एघार र बाह्र कक्षामा बिज्ञान विषय अध्ययन भई रहेको भएपनि त्यति प्रभावकारी नदेखिएको र बिधार्थी सङ्ख्या पनि घट्दो क्रममा रहेको कारण सरकारले बिज्ञान विषयको शैक्षिक स्तर उकास्न यो कार्यक्रम लागु गरेको हो ।
शिक्षा विकास तथा समन्वय इकाई हुम्लाका प्रमुख योगेश आलेमगरले गतवर्षसम्म छरिएर लगानी भई रहेको सो कार्यक्रम यस वर्षबाट विज्ञान विषयको शैक्षिक स्तरोन्नती गर्नका लागि शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री बिद्या भट्टाराईको बिशेष पहलमा यो कार्यक्रम लागु गरिएको बताए ।
देशभर ११४ वटा सामुदायीक विद्यालयमा यो कार्यक्रम लागु भएकोमा कर्णाली प्रदेशका दश जिल्लाका बाह्र वटा विद्यालय छनौट भएको छ । उनले यसअघि कक्षा एघार र बाह्रमा बिज्ञान विषय अध्ययन भई रहेका यी विद्यालयहरुमा साधन र सुविधा नभएपछि बिधार्थी जिल्ला छोडेर बिज्ञान विषय अध्ययन गर्न बाहिर जान थालेपछि जिल्ला कै विद्यालयमा साधन र श्रोतले पुर्ण बनाएर बिज्ञान विषयमा गुणस्तरीय शिक्षा प्रदान गर्न यो कार्यक्रम यसवर्षबाट लागु भएको जानकार दिए ।
कर्णाली प्रदेशका बाह्र वटा विद्यालयहरुमा रुकुम पश्च्मिको मुसिकोट नगरपालिकाको महेन्द्र मावि, सुर्खेत जिल्लाको बीरेन्द्रनगर नगरपालिका– १२ अमरज्योति मावि नेवारे, दैलेखको नारायण नगरपालिकाको त्रिभुवन मावि, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको सरस्वति मावि, जुम्लाको चन्दनाथ नगरपालिका– ६ को महत गाउँको जनता मावि, कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकाको कालिका मावि र रास्कोट नगरपालिकाको भोतिराम मावि, हुम्ला जिल्ला सिमकोट गाउँपालिका– ६ को मानसरोवर मावि, सुर्खेतको बीरेन्द्रनगर नगरपालिका– ६ को जन मावि, सल्यान जिल्लाको सारदा नगरपालिका खलाङगाको त्रिभुवन जन मावि, जाजरकोट जिल्लाको भेरी नगरपालिका त्रिभुवन मावि र मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिका– १ को महाकाली मावि रहेका छन् । कर्णालीका यी विद्यालयहरुमा विज्ञान विषय अध्ययन भई रहेको भएपनि बिधार्थी सङ्ख्या पाँच छ जना मात्र हुने विद्यालयहरु पनि रहेका छन् ।
सिमकोट गाउँपालिका शिक्षा शाखाका नायव सुब्वा कृष्ण प्रसाद अधिकारीले बिज्ञान विषयको प्रर्बद्धन गर्नका लागि यो कार्यक्रम लागु भएको र यो कार्यक्रमबाट पुस्तकालय, ल्याव, शैक्षिक सामाग्री, शिक्षकको क्षेमता बिकास लगाएतका कार्यक्रम सञ्चालनको ब्यवस्था गरेर शहरका विद्यालयमा बिज्ञान विषय अध्ययन गरे जस्तै दुर्गमका विद्यालयमा पनि सोही अनुसार गर्न पठनपाठनको बाताबरण निर्माण गर्न यो कार्यक्रम सहयोगी सिद्ध हुने बताए ।
यी छनौट भएका सवै विद्यालयहरु नमूना विद्यालयहरु हुन । यो कार्यक्रम सञ्चालनका लागि एउटा विद्यालयमा पन्द्र लाख बजेट सङ्घीय सरकारबाट गाउँपालिकामा आई सकेको छ । मानसरोवर माविका प्रधानाध्यापक अमर बहादुर शाहीले यो कार्यक्रमबाट विद्यालयमा बिज्ञान विषय अध्ययनका लागि सहयोगी बन्ने बताए ।
















