सि.टा. समाचारदाता
सिमकोट । एउटा दुर्गम गाउँको टोलीवासी मिलेर पशुबस्तु चराउन लैजाने घोडेटो बाटो जनश्रमदानमा निर्माण गरिएको छ । प्रत्येक बिकासे कामका लागि बजेट सहितको योजनाको माग भई रहेको समयमा त्यसलाई चिर्दै सिमकोट गाउँपालिका–८ को मिलिजुली टोलवासी मिलेर उक्त घोडेटो बाटो निर्माण गरेका हुन । उक्त वडाका वडा अध्यक्ष कमल बुढाले गत भदौ २७ र २८ गते अविरल वर्षाले भत्काएको घोडेटो बाटोको निर्माण कार्य स्याँडा गाउँको मिलीजुली टोलका १८ घरधुरी मिलेर सम्पन्न गरेको बताउनुभयो ।
कुनै सानो सार्वजनिक काम गर्नु पर्यो भने वडादेखि बिकासे कार्यालयमा धाएर बजेट पाएपछि मात्र निर्माण गर्ने कार्यलाई बिदा दिदै स्थानीयले जनश्रमदानमा सो बाटो निर्माण गरेको बताए । घोडेटो बाटो भेडीगाडदेखि दुमाछोपेसम्मको पाँच सय मिटरमा दुई सय मिटर बाटो निर्माण र मर्मत गर्ने कार्य भएको हो । पशुवस्तु बनमा चराउनका लागि लग्न सो बाटो प्रयोग हुने गथ्र्यो ।
वर्षाले भत्काएपछि पशुवस्तु चराउन बन्द भएको कारण टोलका १८ घरधुरी मिलेर सो बाटो निर्माण गर्नु भएको हो । स्थानीयले आफ्नै औजार प्रयोग गरेर एक हप्तामा बाटो निर्माण गर्नु भएको हो । स्याँडा गाउँको मिलीजुली टोलवासीको उपभोक्ता समितिका अध्यक्ष भक्तबिर परियारको नेतृत्वमा बाटो निर्माण गर्ने कार्य भएको हो ।
अध्यक्ष परियारले आबश्यकता भए जनश्रमदानबाट पनि काम गर्न सकिन्छ भन्ने उदाहरण आफ्नो टोलवालीले दिएको बताउदै सधै बजेट पर्खने प्रबृतिलाई समेत बिदा दिएको बताए । बाटो निर्माण भएपछि शुक्रबारबाट पशुबस्तु बनमा चराउन सुरु गरिएको छ । यसका वडा सदस्य जगविर रावलले पनि महत्वपुर्ण भूमिका निर्वाह गरेका थिए ।
























