सि.टा समचारदाता
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज अपराह्नपछि कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मेघगर्जन-चट्याङसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसा देशका पहाडी भू-भागमा साधारणतया बदली हुने तथा बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहनेछ । साथै उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ ।
त्यसै गरी, आज राति देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने छ भने बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
महाशाखा मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले वर्षा गराएको हो ।
“बिहीबार कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थान र बाँकी प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ”, मौसमविद् झाले भने, “प्रि-मनसुनी गतिविधि पनि सक्रिय भएकाले अबका दिनमा मेघगर्जन-चट्याङसहित अपराह्नतिर वर्षा हुने र रातिको समयमा मौसम सामान्यतया सफा रहनेछ ।”
बुधबार साँझपख काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भएको थियो । कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा भएको थियो । गण्डकी प्रदेशमा वर्षा गराउने मौसमी प्रणाली विकसित भई कोशी प्रदेश भएर बाहिरिएकाले आज राति पानी पर्ने सम्भावना नरहेको महाशाखाले उल्लेख गरेको छ ।
विगत चार दिनदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा मौसम बदली रहेको थियो । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडानसमेत सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बुधबार अपराह्न कम्तीमा आधा दर्शन आन्तरिक र अन्तर्राष्ट्रिय उडानतर्फ हवाई जहाज प्रतिकूल मौसमका कारण कम ‘भिजिबिलिटी’ हुँदा केही समय आकाशमै ‘होल्ड’ भएका थिए ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको जनाउँदै महाशाखाले यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई उड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सावधानी अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।












