समाजको आयोजनामा राष्ट्रिय देउडा प्रतियोगिता हुने

सि.टा. समाचारदाता
सिमकोट । प्रथम राष्ट्रिय देउडा प्रतियोगिता आयोजना हुने भएको छ । कर्णाली प्रदेशको सुर्खेत जिल्लामा हुम्ला जिल्लाको संस्कृति संरक्षण समाजले सो प्रतियोगिता आयोजना गर्न लागेको हो । लोप हुदै गएको लोक संस्कृति, भेषभूषा र चाल चलनको संरक्षणका लागि प्रथम राष्ट्रिय देउडा प्रतियोगिता आयोजना गर्न लागिएको समाजका अध्यक्ष तीर्थराज रोकायाले बताए ।

देउडा प्रतियोगिताका साथै बृहत साँस्कृति महोत्सव समेत हुनेछ । आगामी चैत १६ देखि २० गतेसम्म सुर्खेत जिल्लाको घण्टाघरमा यो प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा प्रथम, द्धितीया, तृतीया र सान्त्वना हुने टिमलाई क्रमश ५५ हजार ५५५, ३३ हजार ३३३, २२ हजार २२२ र ११ हजार १११ रुपियाँ पुरस्कारको समेत ब्यवस्था गरिएको छ । देउडा खेलाडीहरुको आफ्नो टिम चैत १४ गतेसम्म तीन हजार प्रबेश शुल्क बुझाएर दर्ता गर्न सकिने छ ।

यो प्रतियोगिताका साथै संगै सञ्चालन हुने महोत्सवमा राष्ट्रिय सम्मान प्राप्त देउडा गायक नन्द कृष्ण जोसी, चर्चीत देउडा गायिका रेखा जोसी, छत्र शाही, नव देउडा गायक नवराज भण्डारी, इव्सन सन्ज्यालको सहभागिता रहने छ भने महोत्सवमा ढाल तरबार, स्यार्वु र दमाई नाच पनि प्रस्तुत गरिने छ ।