आयआर्जनका लागि महिलालाई ऊन सहयोग

फोटो क्याप्सन ऊन सहयोग पाएपछि परम्परागत हाते तानमा (चान ) बुन्दै महिलाहरु । तस्बिर ः सौजन्य, एन्जिला थापा

सि.टा. समाचारदाता
सिमकोट । नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीका महिलालाई च्याङ्ग्राको ऊन सहयोग गरिएको छ । परम्परागत सीपको संरक्षण गर्दै आम्दानी बृद्धि गर्न यो सहयोग प्रदान गरिएको हो ।

लिमीको हल्जी गाउँका महिलालाई चीनको ताक्लाकोटबाट ऊन खरिद गरेर ल्याई महिलालाई सहयोग गरिएको वडा अध्यक्ष पाल्जोर तामाङले बताए । लिमीमा च्याङ्ग्रा पालन लोप भएको बेला ऊनका कपडा बुन्ने सीप समेत हराउने चिन्ता भएको समयमा महिलालाई ऊन सहयोग गरिएको बताउदै उनले यसले परम्परागत ऊन कात्ने सीप पनि संरक्षण हुने र महिलाको आम्दानी पनि हुने बिस्वास ब्यक्त गरे ।

बेरोजगार महिलालाई ऊन सहयोग गर्ने आत्मीय संस्थाकी राष्ट्रिय ब्यवस्थापक एन्जिला थापाले ऊनबाट उत्पादन हुने सबै लत्तकपडाहरु बुन्नु छोडिएको बेला त्यसलाई संरक्षण गर्न र महिलालाई आम्दानीको श्रोत बनाउन ऊन सहयोग गरिएको बताए ।

उनले लिमीको हल्जी गाउँका २५ जना महिलालाई चीनको ताक्लाकोटबाट पाँच क्वीन्टल ऊन खरिद गरेर ल्याई सहयोग गरिएको बताईन ।

पहिले लिमी मै च्याङ्ग हुने भएको कारण त्यति बेला महिलाले ऊनका कपडा बुन्ने गरेको भएपन अहिले लिमीमा च्याङ्ग्रा पालन छोडिए पछि ऊन नपाएर ती कपडा बुन्न पनि छोडिएको थियो ।

संस्थाबाट ऊन सहयोग पाएपछि लिमीका ती महिलाले घरघरमा तानबाट राडी, पाखी, लिउ, फेरुवा, काम्लो बख्खु लगाएतका कपाड बुन्ने कार्य धमाधम भई रहेको छ । ऊनबाट यी कपडा उत्पादन भएर बिक्री गरेर आम्दानी समेत महिलाले प्राप्त गर्ने बिस्वास उनले ब्यक्त गरिन ।

लिमीमा ऊन पाउन छोडेपछि यी कपडा बुन्न छोडिएको समयमा ऊन सहयोग पाएर परम्परागत सीपको पनि संरक्षण हुने र आम्दानी पनि हुने भएपछि महिलाहरु खुसी भएकी छन ।