सि.टा. समाचारदाता
हुम्ला । हिमाली जिल्ला हुम्लामा खाना पकाउने ग्याँसको मुल्य घटेको छ । कर्णाली करिडोरको खार्पुमा निर्माण भएको बेलिब्रीज सञ्चालनमा आउदा सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसंग सिधै जोडिएपछि ग्याँसको मुल्यमा कमी आएको हो ।
सिमकोट बजारकी स्थानीय कुन्डोला भण्डारीले सिमकोटमा सिधै नेपालगंज र सुर्खेतबाट गाडी आउन थालेपछि ग्याँसको मुल्यमा कमी आएर उपभोक्तालाई राहत पुगेको बताए । गत पुस महिनाका एक सिलिण्डर ग्याँस भरेका तीन हजार तिरेकी भण्डारीले तीन दिन अगाडी सोही सिलिण्डर ग्याँस भर्दा दुई हजार सात सय मात्र तिर्नु परेको थियो ।
सडक जोडिएपछि एउटा सिलिण्डर ग्याँस भर्दा तीन सय रुपियाँ कम तिर्नु परेको बताउदै उनले महङ्गी घटाउने काम सडक सञ्जाल जोडिदा भएको बताईन । ग्याँसको मुल्य घटेपछि यसको उपभोक्ता पनि बढेको बताउदै अर्का स्थानीय पानकली सुनारले शहरको तुलनामा ग्याँसको मुल्य बढी भएपनि पहिलेको तुलनामा आधा भन्दा पनि बढी मुल्य घटेको बताईन ।
अझै बाटो सहज भए त्यसको मुल्य घट्ने बिस्वास उहाँले ब्यक्त गर्नुभयो । ग्याँस ब्यापारी तिर्थ बुढाले सुर्खेतमा ग्याँसका सिलिण्डर लोड गरिएको गाडी सिधै सिमकोट पुग्न थालेपछि मुल्यमा घटाउनु परेको बताए । यसअघि पुरानो सिलिण्डर भरेको प्रति सिलिण्डर तीन हजार रुपियाँ लिने गरिएकोमा अहिले दुई हजार सात सय मात्र लिदै आएको बताउदै उनले नयाँ ग्याँस सहितको सिलिण्डर पनि चार हजार पाँच सयमा बिक्री गर्न सुरु गरिएको बताए ।
जव कि खार्पुमा बेलिब्रीज जोडिनु अघि नयाँ ग्याँस सहितको एउटा सिलिण्डर किन्दा पाँच हजार तीन सय रुपियाँ तिर्नु पथ्र्यो । सिमकोट भन्दा माथिल्लो र तल्लो हुम्लामा दुरी अनुसार मुल्य लग्ने गरिएको छ । सुरुमा हुम्लामा ग्याँस मुुगुको गमगढीबाट खच्चडमा ढुवानी गरेर भित्रिदा एउटा सिलिण्डरको मुल्य चौध हजार रुपियाँसम्म पर्ने गथ्र्यो । त्यसपछि हुम्ला जिल्ला बिस्तारै सडक सञ्जालसंग जोडिदा मुल्य पनि बिस्तारै घट्दै आएको थियो ।















