जिल्ला शान्ति सुरक्षा कायम राख्न सघाउने साझा प्रतिबद्धता ब्यक्त

फोटो क्याप्सन सिमकोट बजारमा गस्ती गर्दै नेपाली सेना । तस्बिर ः सि.टा.

सि.टा.समाचारदाता
सिमकोट । जिल्लामा शान्ति सुरक्षा अमय चयन कायम राख्नका लागि साझा प्रतिबद्धता ब्यक्त गरिएको छ । स्थानीय प्रशासनले आयोजना गरेको जेन जी आन्दोलनमा युवा मृत्यु भएको घटनाका बिरुद्ध आवाज उठाउने प्रतिनिधि सहित बसेको सर्वपक्षीय बैठकले सो प्रतिबद्धता जनाउने निर्णय गरेको छ ।

जिल्लाको प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुख, राजनीतिक दलहरु, जेन जी आन्दोलनमा युवा मृत्यु भएको घटनाका बिरुद्ध आवाज उठाउने प्रतिनिधि र नागरिक समाज सहित बसेको सर्वपक्षीय बैठकले शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायलाई सघाउ पुर्याउने प्रतिबद्धता ब्यक्त गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी टेकराज रेग्मीले बताए । जिल्ला हालसम्म शान्त रहेको र यसलाई आगामी दिनमा पनि कायम राख्न सवै पक्ष सहमत रहेको उनले बताए ।

बैठकले गरेको निर्णयमा “बैठकमा उपस्थित सवै प्रमुख एवं प्रतिनिधिले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न आ आफ्नो संयन्त्र मार्फत जिम्मेवारीपुर्ण भूमिका निर्वाह गर्ने, राज्यकोतर्फबाट आएका सङ्क्रमणकालीन निर्देशनलाई परिचाालन गर्न सहयोग, सहजिकरण र समन्वय गर्ने गराउने र सुरक्षाका सबै सयन्त्रहरुको उक्त निर्देशनहरु कार्यान्वयन गर्दा सवै पक्ष एवं हुम्लावासीहरुलाई सहयोग गर्न अनुरोध गर्ने ” कुरा उल्लेख गरिएको हो ।

बैठकमा सहभागी नेपाली काँँँग्रेसका उपसभापति बसन्त रोकायाले देशमा घटना जे भएपनि जिल्लामा शान्ति सुरक्षा कायम गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए । नेकपा एमाले उपाध्यक्ष प्रकाशबहादुर शाहीले देश गम्भीर अवस्थामा रहेको बेला जिल्लाको शान्ति सुरक्षा कायम रहेको सन्देश देशभर पठाउन सकिने गरि काम गर्न आफ्नो पार्टीको तर्फबाट सहयोग गर्ने बताए ।

त्यसैगरि राप्रपा अध्यक्ष बिकास महतले हिजो के थियो भन्दा पनि आज सवैले संयमित भएर भोलीम दिनमा शान्ति सुव्यवस्था कायम राख्न सहयोग पुर्याउनु पर्ने बताए । यसअघि बैठकमा शत्रुभन्जन गुल्म रानी बनका गुल्मपति हरिबावु श्रेष्ठले भदौ २४ गते राती १० वजेबाट देशको शासन ब्यवस्था सञ्चालनको समन्वय गर्ने जिल्ला सेनालाई आएपछिको अवस्थाका बारेमा जानकारी गरेका थिए ।

सेना अब सुरक्षा कायम गर्न फिल्डमा आई सकेकोले सवैले सहयोग गर्न उनले आग्रह गरे । यसैबिच पाँच जना भन्दा बढी ब्यक्ति समुहमा एउटै स्थानमा भेला हुन, हिडडुल गर्न र कुराकानी गर्ने कार्य पनि नगर्न उनले आग्रह छ ।