खार्पुनाथ गाउँपालिकाले बीस लाख भन्दा माथिका योजना टेण्डर गर्ने

सि.टा. समाचारदाता
सिमकोट । खार्पुनाथ गाउँपालिकाले चालु आर्थिक वर्षमा बीस लाख भन्दा माथिका योजनाहरु टेण्डर आव्हान गरेर निर्माण कार्य अगाडी बढाएको छ । गाउँपालिकाको कार्यपालिका बैठकबाट सर्वसम्मत निर्णय गराएर बीस लाख भन्दा माथिका योजनाहरु उपभोक्ताबाट नगराई टेण्डर आव्हान गरि निर्माण कार्य गर्न लागिएको हो ।

अधिकाँस योजनाहरु उपभोक्ता समितिबाट निर्माण कार्य यसअघि अघि बढाउदा सेवाग्राहीबाट गुनासो आएपछि यस आर्थिक वर्षमा निर्माण गर्न लागिएका बीस लाख भन्दा माथिका सबै योजनालाई कार्यपालिका बैठकले निर्णय गरेर टेण्डर आव्हान गर्न लागिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताए ।

गत वर्ष एक करोड भन्दा माथिका योजनाहरु मात्र टेण्डर आव्हान गरेर निर्माण कार्य अगाडी बढाईएकोमा यसवर्ष त्यसो नगरि बीस लाख भन्दा माथिका जति पनि योजना निर्माण गरिन्छ, ती सवै अब टेण्डर आव्हान गरेर निर्माण कार्य अगाडी बढाईने छ । कार्यपालिकाबाट निर्णय भएपछि हाल यी सवै योजनाहरुको प्राविधिकहरुले लागत ईष्टिमेट तयार गर्ने कार्य गरि रहेको र दशै लगत्तै त्यसपछि टेण्डर आव्हान हुने छ ।

अर्को कुरा निश्चित ब्यक्तिहरुले सङ्घ र प्रदेशबाट पहुँचका आधारमा झ्यालबाट योजना ल्याएको जानकारी प्राप्त भएपछि ती सबै योजनाहरु टेण्डर गरेर निर्माण गर्ने निर्णयमा गाउँपालिका पुगेको होे । माथिबाट योजना ल्याउने, गाउँमा सवैलाई नसमेटेर उपभोक्ता समिति निर्माण गर्न थालेपछि सेवाग्राहीबाट गुनासो पनि आएको कारण यस्तो गर्नु परेको होे । उक्त गाउँपालिकाका प्रशासकीय अधिकृत बिष्णुबहादुर शाहीले बाह्र वटा यस्ता योजना रहेको र सवै अब टेण्डर आव्हान गरेर निर्माण गरिने बताए ।

यी योजनाहरु पैतीस देखि सत्तरी लाखसम्म बजेटका रहेको बताउदै आवश्यकता भन्दा पनि पहुँचका भरमा आउने योजनाको बाटो बन्द गर्न पनि यो निर्णयमा गाउँपालिका पुगेको हो । ती योजनाहरुको टेण्डरबाट निर्माण कार्य अगाडी बढाउदा आगामी दिनमा यसरी झाल र पहुँचका भरमा प्रदेश तथा सङ्घबाट आउने योजनाहरुको बाटो सधै बन्द हुने बिस्वास गरिएको छ । योजना आउनु भन्दा अगाडी गाउँपालिकालाई जानकारी नहुने तर पछि प्रदेश र सङ्घबाट आउने योजनामा मात्र नाम र बजेट देख्न पाईने गरेको भोगाई गाउँपालिकालाई जहिले पनि रहेको थियो ।