सिमकोटबाट सुर्खेत र नेपालगंजका लागि पहिलो पटक बस सेवा सञ्चालन

फोटो क्याप्सन सदरमुकाम सिमकोट सुर्खेत र नेपालगंजका लागि पहिलो पटक बस छुट्ने क्रममा । तस्बिर ः सि.टा.

लोग भण्डारी
सिमकोट । सबै भन्दा पछाडी राष्ट्रिय सडक सञ्जालसंग जोडिएको हुम्ला जिल्लाको सदरमुका सिमकोटबाट पहिलो पटक सार्वजनिक बस सेवा सञ्चालनमा आएको छ । सिमकोटबाट सुर्खेत र नेपालगंजका लागि सो सार्वजनिक बस सञ्चालन हुन सुरु भएको हो ।

लामो प्रयासपछि सदरमुकाम सिमकोटबाट सार्वजनिक बस सेवा सञ्चालनमा ल्याउन सफल भएको हुम्ला हिल्सा यातायात प्रालिका अध्यक्ष बिशाल रोकायाले बताए । हरेक दिन बिहान नौ बजेदेखि सदरमुकाम सिमकोटबाट बस छुट्न सुरु भएको छ । अव यो सेवा नियमित रुपमा सञ्चालन हुने र दैनिक एउटा बस सञ्चालनमा आउनेछ ।

उक्त प्रालिले नेपालगंजबाट पनि दैनिक एउटा बस सिमकोटका लागि सञ्चालन ल्याई सकेको छ । यो रुटका लागि प्रालिले चार वटा बसको ब्यवस्था गरेको छ । सञ्चालनमा आएको बस बत्तीस सिटे रहेको र पहिलो दिन सबै सिटहरुमा यात्रुहरुले टिकट काटेर गएको भएपनि नेपालगंजसम्म भने छ जना यात्रु पुग्ने र अन्य यात्रुहरु हुम्ला जिल्लाको सर्केगार्ड, सलीसल्ला, बालुकुना, कवाडी, बाजुरा जिल्लाको पिलु र सर्खेतसम्मको यात्रा गर्नु हुनेछ ।

सडक असजिलो र कच्ची भएको कारण सिमकोटबाट नेपालगंज पुग्न दुई दिन समय लाग्ने छ । भाडादर पनि हाललाई पाँच हजार पाँच सय रुपियाँ निर्धारण गरिएको छ । सार्वजनिक बस सेवा सञ्चालनमा आएसंगै भाडादर पनि सस्तिएको छ । हाल बोलेरो जीपहरुले सिमकोटबाट सुर्खेतसम्मको भाडा सात हजार पाँच सय रुपियाँ लिदै आएका छन ।

कर्णाली करिडोरको खार्पुनाथ गाउँपालिका–५ को खार्पुमा दोजाम कर्णाली नदी माथि बेलिब्रीज निर्माण भएपछि गत असार २२ सो बेलिब्रीजको औपचारिक उद्घाटन हुँदा सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसंग जोडिएको थियो । त्यसयता भने बोलेरो जीपहरु सञ्चालन हुँदै आएका थिए । एक वर्ष अगाडीबाट भने जिल्लाको सर्केगार्ड गाउँपालिका केन्द्रबाट सार्वजनिक बस सेवासञ्चालनमा आई रहेका छन ।