सर्केगाड गाउँपालिका वडा नम्बर–२ अन्तर्गत रिप गाउँमा मंगलबार मध्यराति भीषण आगलागी

सि .टा समचारदाता
हुम्ला – हिमाली जिल्ला हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्बर–२ अन्तर्गत रिप गाउँमा मंगलबार मध्यराति भीषण आगलागी हुँदा पूरै बस्ती त्रास र पीडामा डुबेको छ ।
अचानक सल्किएको आगोले एकै रातमा पाँच घर जलेर नष्ट हुनुका साथै दुई जना स्थानीय गम्भीर रूपमा घाइते भएका छन् । स्थानीयवासीका अनुसार हिजो राति करिब ११ बजेतिर रिप गाउँ निवासी लैबा फडेराको घरबाट अचानक आगो सल्किएको थियो ।

चिसो मौसम, रातको अँध्यारो र सघन बस्तीका कारण आगोले तीव्र रूपमा फैलिँदै वरपरका घरहरूमा समेत क्षणभरमै कब्जा जमायो । आगलागी सुरु भएको केही मिनेटमै आगो नियन्त्रण बाहिर गएपछि गाउँ नै संकटमा परेको थियो ।
आगलागीमा परी स्थानीय लैबा फडेरा र बम्बु फडेरा गम्भीर घाइते भएका छन् । आगो निभाउने प्रयासका क्रममा उनीहरू आगोको चपेटामा परेका हुन् ।

दुबै जनाको शरीरको विभिन्न भागमा गहिरो जलन भएको र अवस्था गम्भीर रहेको स्थानीयले बताएका छन् । घाइते दुवै जनालाई तत्काल उद्धार गरी रातिनै एम्बुलेन्समार्फत जिल्ला अस्पताल सिमकोट हुम्लामा ल्यएकाे स्थानीयले जानकारी दिनु भयाे ।

स्थानीय बिजय फडेराका अनुसार आगलागीबाट रिप गाउँका लैबा फडेरा, जयराम फडेरा, रमेश महतारा, मोहन महतारा र क्रान्ती फडेराका घर जलेर क्षतिग्रस्त भएका छन् । घरका अधिकांश भाग जलेका छन्, लत्ताकपडा, खाद्यान्न, भाँडाकुँडा सबै नष्ट भएका छन् । राति भएको आगलागी नियन्त्रणमा लिन निकै समय लाग्यो ।

आगलागीको खबर पाउने बित्तिकै सर्केगाड प्रहरी चौकीबाट सुरक्षाकर्मी घटनास्थलतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख इन्स्पेक्टर विष्णु श्रेष्ठका अनुसार प्रहरी टोली रातभर आगो नियन्त्रण र उद्धार कार्यमै खटिएकाले क्षतिको यकिन विवरण तत्काल संकलन गर्न कठिन भएको हो ।

घटनामा दुई जना घाइते भएका छन्, उनीहरूलाई उपचारका लागि सिमकोट ल्याउने काम भइरहेको जानकारी दिनु भयाे ।
अहिले आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ । स्थानीय रिप गाउँ र छिमेकी उनापानी गाउँका बासिन्दाहरूले जोखिम मोलेर रातभर आगो निभाउन सघाएका थिए । सामूहिक प्रयासपछि आज बिहान करिब साढे २ बजेतिर आगो नियन्त्रणमा आएको बिजय फडेराले जानकारी दिए ।

यदि स्थानीयको तत्काल पहल नभएको भए क्षति अझ ठूलो हुन सक्ने बताइएको छ । घटनाको जानकारी पाउनासाथ सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाया र उपाध्यक्ष देविका तिमिल्सीना सहितको टोली राहत तथा उद्धार सामग्री लिएर घटनास्थल पुगेको छ । पीडित परिवारलाई अस्थायी बसोबास, खाद्यान्न तथा आवश्यक राहत उपलब्ध गराउने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।

आगलागीको कारण खुल्न नसके पनि प्रारम्भिक अनुमान अनुसार घरेलु आगो वा विद्युत् सर्ट सर्किट हुन सक्ने आशंका गरिएको छ । यद्यपि यसबारे विस्तृत अनुसन्धानपछि मात्रै यकिन हुने प्रहरीको भनाइ छ । एकै रातमा घरबारविहीन भएका पीडित परिवारहरू अहिले खुला आकाशमुनि आश्रय लिन बाध्य भएका छन् । चिसो मौसम, सीमित साधन र कठिन भौगोलिक अवस्थाबीच भएको यो आगलागीले फेरि एकपटक हिमाली बस्तीहरूको जोखिमपूर्ण जीवनशैली र आपतकालीन पूर्वतयारीको आवश्यकता गम्भीर रूपमा उजागर गरेको छ ।