हुम्लाबाट कर्णाली प्रदेश सरकारसंग योजनाका मागै माग

सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेशका बिभिन्न मन्त्रालयसंग छब्बीस सय भन्दा बढी योजनाहरुको प्रस्तावना माग गरिएको छ । आगामी आर्थिक वर्ष २०८३।०८४ का लागि जिल्लाभरका सरोकारवाला निकाय मार्फत सेवाग्राहीहरुले यो माग गर्नु भएको हो ।
कर्णाली प्रदेश सरकार अन्र्तगतका जिल्लामा स्थापना भएका कार्यालय र स्थानीय गाउँपालिका गरि आगामी आर्थिक वर्षका लागि दुई हजार ६६९ वटा योजनाहरुको प्रस्तावना पेश भएका छन ।

यी प्रस्तावनाहरु सत्र वटा सरकारी निकाय अन्र्तगत पेश गरिएका हुन । कर्णाली प्रदेश सभा सदस्य, स्थानीय ब्यक्ति, गाउँपालिका लगाएतका निकाय गरि नौ सय दुई योजनाहरुका प्रस्तावना आफ्नो कार्यालयमा दर्ता भएको खानेपानी सिंचाई तथा उर्जा बिकास कार्यालयका प्रमुख ज्वालाराज शाहीले बताए । उनले खानेपानी, सिंचाई र उर्जासम्म सम्वन्धित योजनाहरु आफ्नो कार्यालयमा दर्ता भएको र अब चाँडै मन्त्रालयमा पठाउने जनाएका छन ।

त्यसैगरि तीन सय योजानहरुको प्रस्तावना आफ्नो कार्यालयमा दर्ता भएको सिमकोट गाउँपालिकाका प्रशासकीय अधिकृत बर्षबहादुर फडेराले जानकारी दिए । आफ्नो कार्यालयमा सवै खाले योजनाको माग पेश भएको र त्यसलाई इन्ट्रि गरेर मन्त्रालयमा पठाउने कार्य हुने छ । जिल्लाका अन्य सरोकारवाला निकायहरुमा अदानचुली गाउँपालिकाबाट गत वर्ष कै तीन सय योजनाहरु पठाईएको छ भने खार्पुनाथ गाउँपालिकाबाट पचास वटा, नाम्खा गाउँपालिकाबाट ७३ वटा, सर्केगार्डबाट २५२ वटा, ताँजाकोट गाउँपालिकामा डेढ सय योजनाका प्रस्तावहरु पेश भएका छन ।

त्यसैगरि कर्णाली प्रदेश सरकार अन्र्तगत जिल्लामा स्थापना भएका कार्यालयहरु मध्य पशु अस्पताल तथा पशु सेवा कार्यालयमा ३३ वटा, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयमा दश वटा, सामाजिक बिकास कार्यालयमा १७६ वटा, डिभिजन बन कार्यालयमा २०१ वटा, खानेपानी सिंचाई तथा उर्जा बिकास कार्यालयमा ९०२ वटा, कृषि बिकास कार्यालयमा १४५ वटा, पुर्वाधार बिकास कार्यालयमा एक सय ३७ वटा योजनाका प्रस्ताव पेश गरिएका छन ।

कर्णाली प्रदेश सरकारका मन्त्रालयहरु आगामी आर्थिक वर्षका लागि योजना बैंकमा प्रविष्ट गर्नका लागि मङ्सिर २९ गतेसम्म आवश्यक पर्ने योजनाको प्रस्तावना जिल्लास्थित कार्यालयहरु र गाउँपालिकामा पेश गर्न सार्वजनिक सुचना निकालिएको थियो । उक्त आर्थिक वर्षका लागि अब जिल्लाबाट पठाईए कै पस्ताव मध्यबाट प्रदेश सरकारले योजना छनौट गरेर तर्जुमा गर्ने सामाजिक बिकास कार्यालयका प्रमुख इश्वरबहादुर सिंहले बताए ।