धुलाम्मे सडकमा यात्रा गर्नुपर्ने बाध्यता

फोटो क्याप्सन । कर्णाली करिडोरको हुम्लादेखि कालीकोट खण्डको धुलाम्मे सडक   तस्बिर : सि.टा 

सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेशका हिमाली जिल्लाका यात्रायताका साधनहरुलाई धुलाम्मे सडकमा यात्रा गर्नु पर्ने बाध्यता रहेको छ । कच्ची सडक र त्यस माथि स्तरोन्नती समेत नभएको कारण खाल्डाखुल्डी सहितको धुलाम्मे सडकमा यात्रा गर्नु परि रहेको हो । हुम्लाबाट नेपालगंजका लागि बोलेरो जीप चलाउदै आएका सुमन बुढाले कर्णाली करिडोरको हुम्ला देखि कालिकोट जिल्लाको जीतेसम्मको यात्रा निक्कै कष्टकर हुने गरेको बताए । यो खण्डमा कच्ची सडक भएको कारण यात्रा भरि धुलाम्मे सडकमा यात्रा गर्दा निक्कै शास्ती खेप्नु पर्ने बाध्यता रहेको हो । साना सवारी साधनहरु मालबहाक ट्रक र बसको पछि जानै नसकिने अवस्था रहेको बताउदै धुलोले सडक नदेखिने भएको कारण गाडी रोक्नुको बिकल्प चालकलाई छैन ।

सो खण्डमा यातायातका साधन सञ्चालन गर्दै आउनु भएका अर्का चालक जितबहादुर रोकायाले धुलाम्मे सडकको कारण यात्रा कष्टकरका साथै समय पनि धेरै लाग्ने गरेको बताए । सडक भरि खाल्डाखुल्डी मात्र नभएर धुलै धुलो भएको कारण सवारी साधन त धुलोले कुरुप हुने गरेको र यात्रुहरु पनि धुलोले सेतै देखिने गरेको छ । यो खण्डको सडक ट्राक खुलाउने कार्य मात्र भएको र हालसम्म स्तरोन्नती गर्ने कार्य सुरु नभएको कारणले समस्या हुने गरेको छ ।

सबै भन्दा बढी हुम्ला सलीसल्लाबाट कुवाडी, कालिकोटको रास्कोटदेखि जिते खण्डको सडकमा बढी शास्ती खेप्नु पर्ने अवस्था रहेको छ । सडकको ट्रयाक मात्र खुलाउने कार्य भएको कारण साँघुरो पनि उस्तै रहेको छ । कतिपय बेला साँघुरो सडकमा दुई वटा सवारी साधन वारपार गर्न पनि निक्कै कठिन हुने गरेको छ । अझ त्यसमाथि ठुला मालबहाक सवारी साधन आएको बेला त झनै समस्या हुने गरेको छ ।

यसले गर्दा यात्रा असजिलो मात्र नभएर निक्कै कष्टकर र समय पनि बढी लाग्ने गरेको छ । हुम्लाको सिमकोटबाट सुर्खेतसम्म मात्र दुई दिन समय लाग्ने गरेको छ । यो समस्या कर्णाली प्रदेशका हिमाली जिल्ला हुम्ला, मुगु, कालिकोट र सुदुरपश्चिम प्रदेशको बाजुरा जिल्लाका यातायातका साधन भोग्नु परि रहेको छ । यो अवस्थामा अब सडक चाँडो स्तरोन्नती गरेर कालोपत्रेको ब्यवस्था गर्न चालकहरुको माग रहेको छ ।