उम्मेदवारी दर्ता गर्दा २५ जनाभन्दा बढीको जुलुस लैजान नपाउने

सि.टा. समाचारदाता
सिमकोट । फागुन २१ गते हुने चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता स्वीकृत गरेको छ। आयोगको शनिबार बसेको बैठकले निर्वाचन आचारसंहिता २०८२ लाई स्वीकृत गरेको हो। लागू हुने मिति भने आयोगले पछि तोके बमोजिम हुनेछ।

आयोगले निर्वाचन आचारसिंहता निक्कै कडा बनाएको छ। उम्मेदवारदेखि सार्वजनिक पद धारण गरेका व्यक्तिले चुनावको निष्पक्षता कायम गर्ने उद्देश्यका साथ आचारसंहितामा कडागरिएको आयोगले जनाको छ।

सार्वजनिक गरिएको तर लागू भइनसकेको आचारसंहिताअनुसार उम्मेदवारले मनोनयन दर्ता गराउन जाँदा २५ जना भन्दा बढीको जुलुस निकाल्न पाउने भएका छन्।

उम्मेदवारीका क्रममा ठूलो जुलुस निकाल्ने, बाजागाजा बजाउने जस्ता कार्यलाई आयोगले निरुत्साहित गरेको छ। सार्वजनिक भएको आचार संहितामा भनिएको छ, ‘निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा वा प्रचार प्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थक सहित पच्चीस जना भन्दा बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजा, गाजा तथा झाँकी सहित जान नहुने।’

त्यस्तै चुनावको प्रचार प्रसार गर्दा दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नपाइने भएको छ।

आयोगले कसैको निजी घरजग्गा वा सार्वजनिक भवन, उद्यान, सडकका भित्ता वा पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख वा टाँस्न नपाइने जनाएको छ।

उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा स्लुसाइन बोर्ड राख तथा श्रव्य सामग्री बजाउन र श्रब्यदृश्य सामग्रीहरू प्रदर्शन वा प्रसारण गर्न नहुने भएको छ।

राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा वा घरदैलो कार्यक्रममा दश वटा सम्म झण्डा र चुनाव चिन्ह प्रयोग गर्न पाइनेछ। त्यसभन्दा बढी झण्डा र चुनाव चिन्ह प्रयोगमा निषेध गरिएको आयोगको आचार संहितामा उल्लेख छ।

अनलाइन वेव पेज, टिभी स्क्रोलिङ्, सपिङ मलमा डिस्प्ले, कल सेन्टर सञ्चालन, वैङ्कका एटिएम काउन्टरमा सन्देश वा सडक नाटक आदि माध्यमबाट दलको वा उम्मेदवारको बारेमा कुनै प्रचारप्रसार गर्न गराउन पाउने छैन।