सि.टा.समाचारदाता
सिमकोट । ताँजाकोट गाउँपालिकाले स्थानीय परम्परागत रैथाने धान खेतीका लागि पकेट क्षेत्र पहिचान गरेको छ । धान खेती गर्न सहज र यसको प्रबद्र्धन गर्नका लागि उपयुक्त धान खेती योग्य जमिनको छनौट गरेर पकेट क्षेत्र पहिचान गरिएको हो ।
राम्रो स्थानीय मार्सी धान फल्ने जमिनलाई छनौट गरेर धान खेतीका लागि पकेट क्षेत्र पहिचान गरिएको ताँजाकोट गाउँपालिकाका कृषि शाखाका प्रमुख टेकेन्द्र रोेकायाले बताए । यसअघि मिसाएर अन्नवाली लगाउने गरिएकोमा अब सो क्षेत्रमा धान खेती मात्र लगाउने नीति गाउँपालिकाले अबलम्बन गरेर कार्यान्वयनमा ल्याईएको हो ।
गाउँपालिका कै पहिचान बनाउने उद्धेश्य सहित यो पकेट क्षेत्र पहिचान गर्ने कार्य भएर कार्यान्वयनमा आएको उनले बताए । सबै बाली संगै लगाउदा पहिचान गर्न कठिन हुने भएको कारण पनि गाउँपालिकाले यो कार्यक्रम अगाडी बढाएको हो । यसका लागि ताँजाकोट गाउँपालिका–४ र ५ को सिंचाई सुबिधा पुगेको साँढे तीन सय हेन्टर खेती योग्य जमिनलाई पकेट क्षेत्रका रुपमा पहिचान गरिएको छ ।
यसरी धान खेती पकेट क्षेत्र निर्धारण गरिएपछि यो संरक्षण, प्रर्बद्धन र लगानी गर्न सहज हुने छ । यो पकेट क्षेत्रमा हिउदै बाली बाहेक अन्य पाली लगाउन पाईने छैन । यसले गाउँपालिकालाई नमूना खेती गर्न समेत सहज हुने बिस्वास गरिएको छ । यो जिल्ला कै पहिलो धान खेती पकेट क्षेत्रका रुपमा स्थापना भएको छ । गाउँपालिका यो पकेट क्षेत्रमा उप्तादन भएको धानको बजारीकरणमा समेत सहयोग गर्ने भएको छ ।
























