सि.टा. समाचारदाता
सिमकोट । जिल्लामा निशुल्क लोक सेवा तयारी कक्षामा बिधार्थीहरुको आर्कषण बढ्दै गएको छ । गाउँपालिका, सामाजिक बिकास कार्यालय र शिक्षा क्षेत्रमा काम गर्ने निकायहरुको सहजिकरणका उक्त कक्षा सञ्चालन भएपछि सो कक्षामा बिधार्थीहरुको उपस्थिती बाक्लो देखिएको हो ।
पहिलो पटक जिल्लामा सञ्चालन भएको निशुल्क लोक सेवा तयारी कक्षाका लागि ३२३ जना परिक्षार्थीहरु भर्ना भएको अबस्थामा साठी प्रतिशत युवती कक्षामा सहभागी भई रहेको सामाजिक बिकास कार्यालयका प्रमुख ईश्वर बहादुर सिंहले बताए । कक्षा बाह्र उतिर्ण युवतीको संङख्या उल्लेख्य रहेको बताउदै उनले यसले हुम्ला जिल्लामा लोक सेवाको परिक्षामा सहभागीता जनाउनेमा परिक्षार्थी पनि बृद्धि हुने बिस्वास बढाएको बताए ।
बिगत लामो समयदेखि लोक सेवा आयोगले दुर्गम हिमाली जिल्ला हुम्लामा पनि नायव सुब्बा र खरिदारको लिखीत परिक्षा लिने ब्यवस्था गर्दै आएको भएपनि परिक्षार्थीहरुको संख्या चारदेखि पाँच जना मात्र हुने गरेको छ । राज्यले गरेको लगानीको भरपुर सदुपयोग गर्नका लागि यो निशुलक लोक सेवा तयारी कक्षाको ब्यवस्था गरिएको यसमा परिक्षार्थीहरु पनि धेरै देखि सकरात्मक पक्ष भएको देखिन्छ ।
सदरमुकाम सिमकोटको मानसरोवर माविमा यी कक्षाहरु सञ्चालन हुने गरेका छन् । साठी जना परिक्षार्थीहरु सहभागिता गराएर हाल चाार वटा कक्षा सञ्चालन भई रहेको भएपनि यसलाई आठ वटा कक्षा बनाएर कक्षा सञ्चालन गर्न लागिएको छ ।
जिल्लाभरका परिक्षार्थीहरुका लागि यो कक्षा सञ्चालन गरिएको भएपनि हाल नाम्क्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका बिधार्थीहरुको सहभागिता रहेको छ । यसका लागि प्रमुख सिंहको संयोजकत्वमा लोक सेवा कक्षा तयारी समन्वय समिति पनि गठन गरिएको छ । सो समितिले सोह्र जना सहजकर्ताको ब्यवस्था गरेर कक्षामा सहजिकरण गर्ने ब्यवस्था गरिएको छ ।
त्यसका जिल्ला भित्रैका लोक सेवा आयोगको परिक्षाको ज्ञान भएका प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीदेखि ताजा रुपमा लोक सेवा परिक्षा उतिर्ण गरेर जागिरमा छिरेका युुवाहरुले सहजकर्ताको रुपमा भूमिका निर्वाह गर्ने ब्यवस्था गरिएको छ ।
यसका लागि नाम्खा, सिमकोट, खार्पुनाथ गाउँपालिका सामाजिक बिकास कार्यालय, शिक्षा क्षेत्रमा काम गर्ने आधार बिकास नेपालले आर्थिक सहयोग गरेका छन । संस्थागत रुपमा कक्षा सञ्चालनको कार्य सुरु भएकोले अब बाह्रै महिना कक्षा निरन्तर सञ्चालन हुनेछन् ।
























