हुम्लाको नाम्खामा ७० जना महिलाको भिआइए जाँच, ६ जनाको पोजेटिभ

सि.टा समाचारदाता
हुम्लाको नाम्खा गाउँपालिकाको केर्मीमा महिलाको भिआइए चेकजाँच गरिएको छ । पौष १८ गते नाम्खा गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भिआइए जाँच गरिएको हो । नाम्खा गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा निःशुल्क भिआइए विधि द्धारा पाठेघरको मुखको क्यान्सरको परीक्षण शिविर गरेको छ ।

उक्त शविरमा ७० जना महिलाहरुले भिआइएबाट पाठेघरको जाँच गराएको नाम्खा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ग्याछो लामाले जानकारी दिनुभएको छ । भिआइए जाँच गरिएका मध्ये ६ जना महिलाको पाठेघरको मुखको क्यान्सर प्रराम्भिक चरणमा देखिएको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमि सरिता बोहराले बताउनु भएको छ ।

जाँचका लागि आएका महिलाको पाठेघरको जाँच गर्ने क्रममा शंका लागेका महिलाको भिआइए जाँच गर्दा ६ जना महिलाको पाठेघरको मुखकोे क्यान्सर देखिएको उहाँले जानकारी दिनुभएको छ । पोजेटिभ देखिएका छ जनाको पाठेघरको मुखको क्यान्सरलाई टिसी मेसिन(थर्मोकोगुलेसन) को तापक्रम दिएर पाठेघरको मुखमा पलाएको मासुलाई सेकाउने काम गरिएको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमि सरिता बोहराले बताउनु भएको छ । यसरी मासुलाई सेकाएर पाँच बर्षसम्म काम गर्ने र त्यसपछि पुन चेकजाँच गर्नुपर्ने देखिएको अनमि बोहराले बताउनु भएको छ ।

क्यान्सर प्रारम्भिक अवस्था पत्ता लगाएर सही उपचार गर्न सकियो भनेपछि गएर हुने जटिल खालको पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिने अनमि बोहराको भनाई रहेको छ । उक्त सिबिरमा नाम्खा गाउँपालिकाका केर्मी, खगालगाँउ, गाडापारी, लामाखोल्सी, च्यादुक लगाएतका गाउँका ७० महिलाले भिआइए चेकजाँच गरेका थिए । उक्त सिबिरमा नाम्खा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ग्याछो लामा, सिनियर अनमि सरिता बोहरा, निर्मला बिश्वकर्मा, जिक्मे लामाको टोली खटिएको थियो । हुम्लामा पछिल्लो समयमा यहाँका महिलालाई यो समस्या बढि देखिने गरेको छ ।