कर्णाली करिडोरको खच्चा सडकको मन्त्री लम्सालद्धारा राती बाह्र बजे अनुमगन

सि.टा. समाचारादाता
सिमकोट ।         संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले कर्णाली करिडोरको हुम्ला खण्डको खच्चा सडकको राती बाह्र बजे अनुमगन गरेका छन् । मुगुबाट पैदल मार्ग हुँदै हुम्ला आउने क्रममा अवेर भएको राती नै सदरमुकाम सिमकोट पुग्नु पर्ने भएपछि राती सो सडकको अनुमगन गरिएको हो ।

वास्तविक अवस्था बुझ्न हुम्लाको सदरमुकाम सिमकोटसम्म स्थलगत अनुगमनका लागि आई पुगेका थिए । यस क्रममा समय ढिलो भएको तर सोमबार राती सिमकोट पुग्नु पर्ने भएपछि राती बाह्र बजे खच्चा सडकको मन्त्रीद्धारा अनुमगन गर्ने कार्य भएको हिल्सा सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले बताए ।

सिमकोटसम्म पुग्ने क्रममा हुम्लावासीका गुनासा सन्दै उनले सडकको अवस्था निक्कै सुधार गर्नुपर्ने र यसका लागि सरकारले गुणस्तरीय सडक निर्माणमा ध्यान दिने प्रतिबद्धता जनाएका छन । उनले दीर्घकालीन योजनाअनुसार कर्णाली राजमार्गलाई चार लेनमा विस्तार गर्ने लक्ष्यका साथ आवश्यक अध्ययन र प्रक्रिया अघि बढाइने प्रतिबद्धता समेत जनाए ।

कर्णाली करिडोरको हुम्ला खण्डको कवाडीदेखि सलीसल्ला हुँदै लालीवगरसम्मको सडक कालोपत्रे गर्ने कार्य अगाडी बढी सकेको छ । त्यसैगरि लालीवगरदेखि खार्पुसम्मको सडकको स्तरोन्नती गर्ने कार्य पनि अगाडी बढेको र अव गुणस्तरीय कार्यमा तिब्रता दिन आवश्यक रहेको मन्त्री लम्सालले बताए ।

कर्णालीका दुर्गम जिल्लाको सडक पूर्वाधार सुधारमा संघीय सरकारको प्राथमिकतामा रहेको बताउदै मन्त्री लम्सालले अनुगमनका क्रममा यात्राभर आफ्नै सवारी साधन चलाउँदै यात्रा गरेका थिए । कर्णालीका सर्वसाधारणले दैनिक भोग्ने सडकको अवस्था, कठिनाइ र यथार्थलाई आफैं अनुभव गर्न उनले सवारी साधन आफै चलाएको बताए ।

कर्णालीको बिकासलाई कागजको प्रतिवेदनले मात्र नभई धुलाम्मे सडकमा यात्रा गरेर सडकको दुःख–सुख आफ्नै आँखाले देखेको र स्थानीयका कुरा प्रत्यक्ष सुनेर मात्र यथार्थ कुरा बुझ्न सकिने भएकोले यो प्रयास गरिएको उनको भनाई थियो । गत सोमबार मुगुबाट हुम्ला आएर कर्णाली करिडोरको अवस्थाको स्थलगत अनुगमन गर्दै राती दुई वजे सिमकोट पुगेका थिए ।

यो यात्राका क्रम सम्वन्धित जिल्लाका सडक कार्यालयका प्रमुखलाई आफुसंगै राखेर अवस्थाका बारेमा जानकारी लिने र निर्देशन दिने कार्य पनि गर्नु भएको थियो । यो क्रममा काम गर्ने निर्माण कम्पनीलाई प्रोत्साहन र काम नगर्नेलाई ठेक्का तोडेर बिकल्प निकाल्न समेत उनले कार्यालय प्रमुखलाई निर्देशन दिए ।

मन्त्री लम्सालले स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, उद्योगी–व्यवसायी र स्थानीयवासीबाट आएका सुझाव तथा मागलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित निकायसँग समन्वय गरेर कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

स्थानीयवासीले मन्त्रीको भ्रमणबाट कर्णाली राजमार्गसहित हुम्लाका सडक पूर्वाधार क्षेत्रको विकासले गति लिने बिस्वास ब्यक्त गरेका छन् । मन्त्री लम्साल सिमकोटबाट हवाई मार्ग भएर फिर्ता भएका छन् । उहाँको टोली साउन १ गते कर्णाली करिडोरको स्थलगत अनुगमनका लागि निस्केको थियो ।