सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगाड गाउँपालिका–२ छारेभिरमा चट्टान खसेपछि सडक अवरुद्ध भएको छ । पहिरोसँगै ठुला ढुङ्गा खसेपछि करिब सय मिटर सडक अवरुद्ध हुँदा करिडोरमा सवारी आवागमन ठप्प भएको हो ।
पहिरोका कारण कोरिडोर हुँदै आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बिच बाटोमै अलपत्र परेको प्रहरी नायव उपरिक्षक शंकर खड्काले बताए । सडकमा ठुला ठुला ढुङ्गा खसेकाले तत्काल सडक खुलाउन कठिन भएको छ । उनले सडक खुलाउन पहल भई रहेको बताए । उनका अनुसार सडकमा ठुला ढुङ्गा खसेकाले सामान्य उपकरणबाट मात्रै सडक खुलाउन सम्भव छैन । एउटा जेसिवीबाट पहिरो पन्छाउने कार्य सुरु भएको छ । सडक खुलाउने विषयमा सडक विभागका प्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखसँग छलफल गरी आइतबार बिहानैदेखि थप मेशिन प्रयोग गरेर सडक खुलाउने काम सुरु गर्ने तयारी गरिएको भएको छ । करिब एक सय मिटर सडक क्षेत्रमा ठुला ढुङ्गा थुप्रिएकाले फुटाउनु पर्ने अवस्था छ । दुर्गम क्षेत्रमा आवश्यक साधन स्रोत तत्काल उपलब्ध गराउन कठिन हुने भएकाले सडक खुलाउन केही समय लाग्ने छ । आइतबार बिहानदेखि निरन्तर काम अघि बढाएर सम्भवतः एक दुई दिनमा कर्णाली कोरिडोर सञ्चालनमा ल्याउने लक्ष्य छ । वर्षायाममा बाढी, पहिरो र ढुङ्गा खस्ने समस्याका कारण कर्णाली कोरिडोर पटकपटक अवरुद्ध हुँदै आएको छ । कोरिडोर अवरुद्ध हुँदा हुम्लाका नागरिकको आवतजावतसँगै उपचार गर्ने बिरामी, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको ढुवानीसमेत प्रभावित हुने गरेको छ ।
फोटो क्याप्सन
पहिरो सहित ढुङ्गा खसेर अवरुद्ध भएको छारे खण्डको सडक ।
























