हुम्लाको मतदाता संख्या ३४ हजार बढी कायम

सि.टा. समाचारदाता
सिमकोट । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्बाचनका लागि हिमाली जिल्ला हुम्लामा मतदाता संख्या ३४ हजार बढी कायम भएको छ । यसअघि चौतीस हजार ५०२ मतदाताले निर्वाचन प्रयोजनका लागि आफ्नो नाम दर्ता गराएको भएपनि उमेर नपुगेको कारण उक्त संख्या आयोगले कायम गरेको हो ।

अब फागुन २१ गतेको निर्वाचनका लागि जिल्लाबाट ३४ हजार ३७२ मतदाताले मात्र मतदान गर्न पाउने गरि मतदाता संख्या कायम भएको जिल्ला निर्वाचन अधिकृत भिमबहादुर रोकायाले बताए । यसमा १८ हजार २१ मतदाता पुरुष र १६ हजार ३५१ महिला मतदाता रहनु भएको छ ।

गत मंसीर ५ गतेसम्म निर्वाचन कार्यालय र अन्यत्र आफ्नो नाम दर्ता गराउने संख्या ३४ हजार ५०२ कायम भएको भएपनि आगामी फागुन २० गतेसम्म अठार वर्ष उमेर पुगेका सो मतदाता संख्या कायम भएको हो । आफ्नो नाम दर्ता गराएर पनि फागुन २० गतेसम्म अठार वर्ष उमेर नपुगेका १३० जनाले भने मतदानबाट बन्चित हुनु पर्नेछ ।

यसमा अधिकास जेन जी समुहका मतदाता रहेका छन् । यसअघि २०७९ सालको निर्बाचनमा मतदाता संख्या ३३ हजार ३०८ रहेको छ । उक्त निर्वाचन भन्दा यस पटकको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एक हजार १९४ मतदाता संङ्ख्या बढेको छ ।

यता हुम्ला जिल्लामा साठी वटा मतदान स्थल र चौसट्टी वटा मतदान केन्द्र कायम भएका छन् । २०७९ सालको संसदीय निर्वाचनमा ५८ मतदान स्थल र साठी वटा मतदान केन्द्र रहेका थिए । त्यस्तै गरि जिल्ला सुरक्षा समितिले सत्ताईस वटा मतदान स्थलहरुलाई यसअघि नै अति सम्वेदनशील ठहर गरि सकेको छ । समितिको निर्णय अनुसार २१ वटा सम्वेदनशील र दश वटा सामान्य मतदान स्थल रहेका छन ।