नयाँ पाँच वटा झोलुङ्गे पुल निर्माण चार वटा अन्तिम चरणमा

फोटो क्याप्सन अदानचुलीको पाल्समा निर्माण कार्य पुरा भएको झो.पु । तस्बिर : राजन रावत, हुम्ला ।

सि.टा. समाचारदाता

सिमकोट । जिल्लामा नयाँ पाँच वटा झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा आएका छन् । आर्थिक वर्ष ०८२।०८३ मा निर्माण सुरु भएर यी झोलुङ्गे पुलहरुको निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा आएसंगै पैदल यात्रु, पशुवस्तु र जडिबुटी सङ्कलन गर्ने किसानहरुलाई सहज भएको हो ।

एक वर्षका नयाँ पाँच वटा झोलुङ्गे पुलको निर्माण कार्य सुरु भएर सम्पन्न भई सञ्चालनमा आएका छन । यसअघि एउटा झोलुङ्गे पुल निर्माण गर्न तीनदेखि चार वर्ष समय लाग्ने गरेको भएपनि हुम्ला जिल्ला सडक सञ्जालसंग जोडिएसंगै निर्माण सामाग्री ढुवानीमा सहजता हुँदा ती झोलुङ्गे पुलहरु समय मै निर्माण भएर सञ्चालनमा आएका हुन ।

यसरी एक वर्षभित नयाँ निर्माण कार्य सम्पन्न भएका झोलुङ्गे पुलहरुमा अदानचुली गाउँपालिका– ५ को पाल्स गाउँ जोड्ने लिव्रागार्ड झोप, नाम्खा गाउँपालिका– ५ को यारीको ह्याङ्सी खोलाको झोपु, सर्केगार्ड गाउँपालिका– ७ को प्रर्वुता ट्रस व्रीज, खार्पुनाथ गाउँपालिका– १ र २ नम्बर वडालाई जोड्ने लालीवगरको कर्णाली नदीमा निर्माण भएको झोपु र ताँजाकोट गाउँपालिका–२ र ४ वम्बर वडाको हुङ्गार झोपु रहेका छन् ।

यी पुलहरु निर्माण गर्नका लागि सडक सञ्जालबाटको दुरी हेरेर स्टिल पार्ट बाहेक चालीस लाखदेखि एक करोडसम्म लागत लाग्ने गरेको थियो । पाँच वटै झोलुङ्गे पुलहरु सञ्चालनमा आएपछि प्रदल यात्रु, पशुवस्तु र जडिबुटी सङ्कलकलाई निक्कै सहज भएको नाम्खा गाउँपालिका– ५ को यारी गाउँका नाम्ग्याल लामाले बताए ।

यी झोपुहरु स्थानीयका लागि अति आवश्यक भएको कारण उपभोक्ताहरुको सहभागितामा छोटै समयमा निर्माण कार्य सम्पन्न भएको हो । यति भएपछि अब स्थानीयले खोला तर्नु पर्ने बाध्यताबाट छुटकारा मिल्नुका साथै पैदल हिड्दा लाग्ने समय समेत छोटिएको छ ।

चार वटा झोपु अन्तिम चरणमा
यता जिल्लाका विभिन्न स्थानमा निर्माण कार्य सुरु भएका चार झोपु भने अव अन्तिम चरणमा पुगेका छन् । असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्नुपर्ने भएपनि केही काम बाँकी रहेकोले हाल अन्तिम चरणको निर्माण कार्य भई रहेको छ ।

यसरी अन्तिम चरणको काम भई रहेका चार वटा झोपुमा चङ्खेली गाउँपालिका– ४ को घट्टे खोला झोपु, सर्केगार्ड गाउँपालिका– २ र ३ को रातोपानी झोपु, ताँजाकोट गाउँपालिका– २ र ४ को पैमा खोला ट्रसव्रीज र ताँजाकोट गाउँपालिका– १ र वाजुरा जिल्लाको हिमाली गाउँपालिका– ५ को गोलीगाँडा झोपु रहेका छन । यी झोपुहरु चालु आवको प्रथम चौमासिक अवधीसम्म निर्माण कार्य सम्पन्न गर्ने गरि काम भई रहेको छ ।