विद्यालयमा सुविधा सम्पन्न सभा हल निर्माण

फोटो क्याप्सन नयाँ निर्माण कार्य सम्पन्न भएको सभाहल । तस्बिर :सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । दुर्गमको विद्यालयमा सुविधा सम्पन्न सभाहल निर्माण कार्य भएको छ । विद्यालयमा बिधार्थीहरुका लागि सञ्चालन गरिने अतिरिक्त कृयाक्लापहरु, तालिम गोष्ठी र अन्य सार्वजनिक कार्यक्रम सञ्चालन गर्न सो सभाहल निर्माण गरिएको हो ।

खार्पुनाथ गाउँपालिका– ५ को खर्पेलगाउँको मान्धारा विद्यालयमा सभाहल निर्माण सम्पन्न भएको सो वडाका वडा अध्यक्ष भरतजंग शाहीले बताए । यसअघि सभाहल नहुँदा विद्यालय अधिकाँस कार्य खुल्ला चौरमा सञ्चालन गर्नु पर्ने बाध्यता रहेको थियो ।

आवश्यक रहेको बेला विद्यालयको मागलाई कर्णाली प्रदेशले सुनुवाई गर्दा सभाहल निर्माण गर्न सफलता मिलेको उनले बताए । विद्यालयका लागि आवश्यक पर्ने मञ्च सहितको सभाहल निर्माण कार्यले विद्यालयलाई सहज भएको सो विद्यालयका प्रधानाध्यापक दिलबहादुर शाहीले बताए ।

यसबाट विद्यालयलाई अतिरिक्त कृयाक्लापहरु, तालिम , गोष्ठी लगाएतका विद्यालयसंग सम्वन्धि कार्यक्रम गर्न सहज भएको छ । सभाहलमा साउण्ड सिस्टम, स्मार्ट वोर्ड समेत जडान गरिएको छ ।

यसबाट बिधार्थीहरु, शिक्षक, कर्मचारीहरु लावान्भित हुनेछन् । टेण्डर आव्हान भएको निर्माण गरिएको सभा हल गत मंसीर महिनामा निर्माण कार्य सुरु भएर असारमा सम्पन्न भएको थियो ।