१० औँ राष्ट्रिय खेलकुद मङ्सिरमा हुने

सि.टा. समाचरादाता
सिमकोट ।       कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरिने भनिएको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सिरमा हुने भएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बिहीबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को एक सय २५औँ बोर्ड बैठकले राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सिर १६ देखि २९ गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो ।
पटक पटक सर्दै आएको राष्ट्रिय खेलकुदको मिति पछिल्लो पटक तोकिएको यो पाँचौँ पटक हो । यसअघि गत फागुन १ देखि ७ गतेसम्म हुने भनिएको राष्ट्रिय खेलकुद प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण सारिएको थियो । यसअघि मिति सरेपनि १०औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिसकिएको छ ।

मस्कटमा लोपोन्मुख जनावर ‘रेडपान्डा’ रहेको छ । यस्तै लोगोमा सात रङ्ग, चन्द्र र सूर्य झन्डा अङ्कित रहेको छ । दुई दुई वर्षमा आयोजना हुनुपर्ने राष्ट्रिय खेलकुदको पछिल्लो नवौँ संस्करण २०७९ सालमा गण्डकी प्रदेशको राजधानी पोखरामा भएको थियो ।