सि.टा. समाचारदाता
सिमकोट । स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुन सक्ने प्रक्रिया सुरु गरेको छ । बिमा कार्यक्रममा नयाँ आबद्धता, बिमालेख नवीकरण, सेवाग्राहीको व्यक्तिगत विवरण अद्यावधिक गर्ने (केवाइसी अपडेट) लगायत सबै काम अनलाइनामार्फत गर्न सकिनेछ ।
बोर्डले यसअघि बिमा कार्यक्रममा दर्ता सहयोगीमार्फत सर्वसाधरण बिमा आबद्ध हुने गरेकामा शुक्रबारदेखि सुरु गरिएको सेवामार्फत अनलाइनबाटै सबै विवरण र सेवा प्राप्त गर्न सकिने जानकारी दिएको छ ।
वोर्डले बिमामा आबद्ध हुनका लागि अनलाइनामार्फत आफैँले फारम भर्न मिल्ने प्रणाली सुरु गरिसकेका छ ।
अबदेखि दर्ता सहयोगीविना बिमा आबद्धता, नवीकरणलगायत सबै काम गर्न सकिने ब्यवस्था समेत भएको छ । विद्युतीय माध्यमबाट स्वास्थ्य बिमामा आबद्धता तथा बिमालेख नवीकरणसम्बन्धी कार्यविधि, २०८३ बमोजिम अनलाइनमार्फत बिमा आबद्धता र नवीकरण गर्न सुरु गरिएको छ ।
बोर्डका अनुसार यसका लागि ‘इसेवा’, ‘खल्ती’ र ‘कनेक्ट आइपिएस’ मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । उक्त प्रणालीमार्फत व्यक्ति स्वयंले तथा दर्ता सहयोगीले परिवारलाई डिजिटल माध्यमबाट स्वास्थ्य बिमामा आबद्ध तथा बिमालेख नवीकरण गर्न सक्नेछन्।
अहिले बिमामा ५९ लाख ७० हजार ४०३ जना आबद्ध भएका प्रवक्ता शाहले जानकारी दिए। उनका अनुसार स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच जना परिवारसम्मका लागि रु तीन हजार ५०० बराबरको योगदानको आधारमा रु एक लाखसम्मको स्वास्थ्य सेवा उपलब्ध गराइन्छ ।
थप प्रतिसदस्य रु ७०० का दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य रु २० हजार बराबरको सेवा सुविधा थपिने प्रावधान छ। यस्तै आठ प्रकारका कडा रोगमा एक लाख बराबरको थप सेवा प्रदान गरिने स्वास्थ्य बिमा बोर्डले जनाएको छ।




















