मृत्यु भएका मतदाताको अद्यावधिक गर्न आयोगको आग्रह 

सि.टा. समाचारदाता
सिमकोट । मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगले सम्बन्धित परिवारका सदस्य र सरोकारवालालाई आग्रह गरेको छ । आयोगले एक प्रेस विज्ञप्तिमार्फत यस्तो आग्रह गरेको हो ।

आयोगले बेलाबेलामा मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमितरूपमा मतदाता नामावली अद्यावधिक गर्दै आइरहेको छ ।

मतदाताको मृत्युपछि एकाघर परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले मृत्युदर्ता प्रमाणपत्रसहित सम्बन्धित निर्वाचन कार्यालयमा यथाशीघ्र सूचना दिई मतदाता नामावली अद्यावधिक गर्न सकिने व्यवस्था छ ।

गत फागुन २१ को निर्वाचनपछि चैत २२ बाटै मतदाता नामावली संकलन तथ अद्यावधिक कार्य सञ्चालन हुँदै आएको छ ।

राष्ट्रिय परिचयपत्र भएकाले सोका आधारमा मतदाता नामावलीमा अनलाइन प्रणालीमार्फत नाम दर्ता गर्न सक्ने प्रावधान छ ।

राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएका नेपाली नागरिकले आयोगको ‘प्रि–इनरोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भरी आफ्नो फोटो तथा औँठाछापसहितको जैविक विवरण दिन सम्बन्धित प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा स्वयं भौतिक रूपमा उपस्थित हुनुपर्छ ।

मतदाता नामावलीमा नाम, थर तथा ठेगाना सच्याउने, एउटै वडाभित्र दुई वा सोभन्दा बढी मतदानस्थल रहेको अवस्थामा मतदातालाई पायक पर्ने स्थानमा नाम सार्ने, नागरिकता अनुसारको विवरण नभएमा नागरिकताअनुसार सच्याउने तथा दोहोरो नाम हटाउनेलगायतका काम अनलाइन माध्यमबाट आवेदन दिन सकिने व्यवस्था छ ।