- सि.टा. समाचारदाता
नेपाली कांग्रेसको सय दिने केन्द्रीय अभियान आजदेखि बाँकेमा सुरु भएको छ। बाँकेमा केन्द्रीय प्रतिनिधिका रुपमा खटिएका केन्द्रिय सदस्य कृष्णकिशोर शर्मा घिमिरेले अभियानको शुभारम्भ गरेका हुन्। नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको सभापतित्व एवम् घिमिरेको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको अभियान असोज ७ गतेदेखि पौष १६ गतेसम्म सञ्चालन गर्ने केन्द्रिय कार्यतालिका छ। तर, मुलुकमा पछिल्लोपटक आएको विपतका कारण कोजाग्रत पूर्णिमासम्मका लागि अभियान स्थगित गरिएको कांग्रेस केन्द्रले जनाएको छ।
बाँकेमा अभियानको शुभारम्भ गर्दै केन्द्रिय प्रतिनिधि घिमिरेले पार्टीलाई संगठित बनाउँदै चलायमान बनाउन सबै पार्टी पंक्ति लाग्नुपर्नेमा जोड दिए। सबैको साझा प्रयासबाट मात्र पार्टीले चलाएको अभियानले सार्थकता पाउने घिमिरेको भनाई छ। आपसी तिक्तता, बैमनश्य र अन्तरद्वन्द त्यागेर पार्टीलाई बलियो बनाउनतर्फ लाग्न उनले आग्रह गरे।

अर्का केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले पार्टीले सञ्चालन गरेको सय दिने अभियानले नेता कार्यकर्तामा जागरण ल्याउने विश्वास ब्यक्त गरे। पार्टी सभापति गौडेलले कांग्रेस बाँकेले पनि चार महिने अभियान चलाइरहेको बताउँदै केन्द्र र जिल्लाको अभियानलाई संगसंगै जोडेर पार्टी संगठन निर्माण र सुदृढीकरणमा लाग्न सबैलाई आह्वान गरे।
कांग्रेस बाँकेले भदौ २४ गतेदेखि सुरु गरेको जेष्ठ नागरिक, महिला र युवाको योगदानः पार्टी संगठन सुदृढीकरणमा बाँके कांग्रेसको अभियानु पौष मसान्तसम्म सञ्चालन हुनेछ।
सय दिने अभियान शुभारम्भ कार्यक्रममा विभिन्न नेता कार्यकर्ताले स्थानीय स्तरमा देखिएको समस्या, संगठन निर्माण र सुदृढीकरणमा देखिएको चुनौति र अभियानलाई जोडेर पृष्ठपोषणका रुपमा आफ्ना भनाई राखेका थिए। जिल्ला उपसभापति गोपाल प्रसाद अधिकारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए।























