लिमीका सुनौलो हजार दिनकी आमा र शिशुलाई तीस केजी लिटो सहयोग

लिटो पाएपछि लिमी हल्जी गाउँकी महिलाहरु । तस्बिर : राजन रावत, हुम्ला

सि.टा. समाचारदाता
सिमकोट । नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीमा सुनौलो हजार दिनकी आमा र वालवालिकाहरुलाई लिटो प्रदान गरिएको छ । नवजात शिशु र आमाको पोषणमा सुधार ल्याउन गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा लिटो सहयोग गरेको छ ।
यस्ता अनुदानका कार्यक्रमहरु बिरलै पुग्ने हिमालपारीको गाउँ लिमीकी सुत्केरी भएकी आमा, शिशु र गर्भवती महिलाहरुलाई लिटो सहयोग गरिएको हो । नयाँ सुत्केरी, गर्भवती र नवजात शिशुहरुको पोषणमा सुधार ल्याउन र खाने तरिका सिकाउनका लागि लिटो प्रदान गरिएको लिमी स्वास्थ्य चौकीका संयोजक गोर्खबहादुर भण्डारीले बताए । लिमीका तीन गाउँका १७ जना वालबालिकालाई लिटो प्रदान गरिएको हो ।

एक जना वालवालिकालाई मासिक तीन केजीका दरले दश महिनाको तीस केजी लिटो सहयोग गरिएको हो । उनीहरुलाई स्वास्थ्य चौकी मै बोलाएर लिटो प्रदान गरिएको हो । नवजात शिशु र अन्य लिटो प्रयोग गर्ने बालबालिकाहरुले यसअघि आफ्नै घरमा तयार पारिएको खानेकुरा खाने गरेको भएपनि अव भने लिटो प्रयोग गर्न पाउने छन् । यो सहयोग बिश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग तथा सप्रोस नेपालको प्राविधिक सहयोगमा उपलब्ध हुँदै आएको छ ।

हुम्ला जिल्लाका सात वटै गाउँपालिकाका स्वास्थ्य चौकीबाट यस आवमा ४७ दशमलव ४९९ मेट्रिक टन लिटो प्रदान गरिएको हो । सन २०१६ बाट यो कार्यक्रम जिल्लामा लागु हुँदै आएको छ । प्रति महिना चार हजार ४१ जनालाई लिटो प्रदान गर्ने लक्ष रहे अनुसार बाह्र हजार १२३ केही पोष्टिक आहारा पाउदै आएका छन् ।