सि.टा. समाचारदाता
सिमकोट । जिल्लामा लागु औषध दुरुपयोग नियन्त्रण अभियान तीन महिना सञ्चालन हुने भएको छ । सोमवार यो अभियान सञ्चालनको तयारीका लागि वसेको सरोकारवाला पक्षबिच बसेको बैठकले जिल्लाबाट लागु औषधलाई नियन्त्रण गरेर त्यसलाई हटाउनका लागि यो अभियान सञ्चालन गर्ने निर्णय गरिएको हो ।
असोज १५ गतेदेखि पुस १५ गतेसम्म उक्त अभियान सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए । हाल जिल्लामा लागु औषधका प्रभाव खासै नभएको भएपनि त्यसलाई सधै नियन्त्रणमा राखि राख्नका लागि यो अभियान जिल्लाभर सञ्चालन गर्न लागिएको छ ।
यो तीन महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालय सात वटै गाउँपालिकासंग समन्वय गरेर विद्यालयमा लागु औषध बिरुद्ध अभियान सञ्चालन गर्नेछ । त्यसैगरि गाउँपालिकाका नीति तथा कार्यक्रम एवं बजेटमा लागु औषध दुरुपयोग बिरुद्धको अभियानलाई मुलप्रबाहीकरण गर्न कार्यक्रम समावेश गर्न अनुरोध गर्ने, जिल्ल प्रहरी कार्यालय गाउँपालिकाको समन्वयमा विद्यालय क्याम्पस, वडा, टोलमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, जनचेतना जोगाउने ब्यानरमा लागु औषध नियन्त्रण गर्न सन्देशहरु समावेश गर्ने, प्रहरीको सहयोगमा गाँजा फडानी गर्ने, गाँजा सेवन गर्ने संभावित क्षेत्रको पहिचान गर्ने, लागु औषध प्रयोग बिरुद्ध सवै क्षेत्रलाई परिचालन गर्ने, नियमनकारी निकायाले मापसे लापसे सेवन गरि सवारी साधन सञ्चालन गर्न नदिने र चेकजाँचलाई कडाई गर्ने, औषधी पसलमा अनुमति प्राप्त भएको औषधी बाहेक अन्य औषधी बिक्रीमा रोक लगाउने, गाउँपालिका यस बिरुद्ध स्थानीय स्तरमा युवाक्लव परिचालन गर्ने र स्थानीय एफएमबाट यस बिरुद्धक बहसका कार्यक्रम सञ्चालन गरिनेछ ।
कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारी, चंखेली गाउँपालिकाका अध्यष प्यारीलाल शाही, सुरक्षा निकाय लगाएको सहभागीता रहेको थियो ।
















