सि.टा. समाचारदाता
सिमकोट । आजबाट महिला टी–२० विश्वकप सुरु हुँदै छ। युएईमा सुरु हुन प्रतियोगितामा १० टिमबीच १७ दिन प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा कुल २३ खेल हुनेछ। १० टोलीलाई २ समूहमा विभाजन गरेर खेल सुरु हुँदै छ ।
समूह ‘ए’मा भारत, अस्ट्रेलिया, पाकिस्तान, श्रीलंका र न्युजिल्यान्ड रहँदा समूह ‘बी’ मा बंगलादेश, इंग्ल्यान्ड, स्कटल्यान्ड, साउथ अफ्रिका र वेस्टइन्डिज रहेका छन् । समूह चरणमा एकअर्काविरुद्ध प्रतिस्पर्धा भएपछि दुवै समूहबाट शीर्ष दुईमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन्। सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग तथा समूह ‘बी’को विजेताले समूह ‘ए’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनलका खेल आगामी १७ र १८ अक्टोबरमा हुँदा प्रतियोगिताको फाइनल २० अक्टोबरमा हुनेछ। प्रतियोगिता युएईका दुई भेन्युमा आयोजना हुनेछ। जसमा शारजाँहा र दुबइमा खेल हुनेछ। दुबईमा पहिलो सेमिफाइनल र फाइनल हुँदा सारजाहाँमा दोस्रो सेमिफाइनलको खेल हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा आज दिउँसो ३ः४५ बजे बंगलादेश र स्कटल्यान्ड भिड्दा साँझ ७ः४५ मा हुने खेलमा पाकिस्तान र श्रीलंका प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा सेमिफाइनल र फाइनलमा रिजर्व डे राखिएको छ । ाईसीसीले पहिलो पटक महिला र पुरुष टिमको पुरस्कार राशी बराबर राखेको छ। विजेताले ३२ करोड बढी प्राप्त गर्नेछन्। उपविजेताले १६ करोडभन्दा बढी तथा सेमिफाइनल पुग्ने दुवै टिमले ९–९ करोड प्राप्त गर्नेछन । महिला विश्वकपमा सर्वधिक सफल टोली अस्ट्रेलिया हो। उसले ६ पटक उपाधि जित्दा इंग्ल्यान्ड र वेस्टइन्डिजले समान १–१ पटक जितेका छन्। भारतले भने अहिलेसम्म महिला विश्वकपको उपाधि जित्न सकेको छैन ।























