सि.टा. समाचारदाता
सिमकोट । एमाले उपमहासचिव प्रदिप ज्ञवालीले खार्पुको दोजाम कर्णाली माथि तत्कालका लागि बेलिब्रीज निर्माणका लागि घनिभूत पहल गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार जिल्लाका जनप्रतिनिधि, राजनीति दलका नेता र नागरिक समाजका तर्फबाट अनुरोध पत्र बुझ्दै नेता ज्ञवालीले सो कुरा बताएका हुन ।

पक्की पुल निर्माण नभएको र त्यसका लागि बिकल्प दिन नसकिएको कारण हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसंज जोडिन नसकेको बताउदै पुर्वमन्त्री समेत रहेका ज्ञवालीले त्यसका लागि आफु काठमाडौं पुग्ने वित्तिक्कै पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे । सरकारका लागि बेलिब्रीज निर्माण गर्नका लागि यो भन्दा अन्य जिल्ला प्राथमिकताको विषय हुन नसक्ने बताउदै अब सरकारले जसरी पनि पुल निर्माण गर्ने बताए ।
नेपाल सरकारको लक्ष्य आर्थिक वर्ष ०८०।०८१ मै सदरमुकाम सिमकोटलाई सडक सञ्जालसंग जोड्ने रहेको भएपनि कर्णाली करिडोरको हुम्ला खण्डको खार्पुनाथ गाउँपालिका– ५ को खार्पुमा रहेको दोजाम कर्णाली नदी माथि निर्माण हुनु पर्ने पुल प्राविधिक कारण बन्न नसकेको कारण जोडिन नसकेको उनले बताए । उक्त नदी माथि निर्माण हुनु पर्ने पक्की पुलको काम हाल रोकिएको अवस्थामा रहेको र त्यसको कारण पुलको डिपिआर तयार गर्दा माटो परिक्षण हुन नसकेको कारण पुलको पिलर निर्माण स्थलमा तातो पानी निस्किएर काम अगाडी बढ्न नसक्नु बिडम्बना रहेको उनले बताए । यस्तो सिस्टम गलत भएकै कारण हुम्लावासीले दुःख पाएको समेत उनले बताए । अब आफुले तत्कालका लागि खार्पुको दोजाम कर्णाली माथि बेलिव्रीज निर्माणका लागि काठमाडौं फिर्ता हुने वित्तिक्कै पहल गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । पक्की पुल बन्ने निश्चित नभएपछि त्यहाँ राज्यले बिकल्प दिनु पर्ने र त्यो कुरा वर्तमान सरकार दिने समेत उनले बताए । त्यसैका लागि पुल निर्माण स्थलमा आफु पुगेको पनि उनले बताए । हुम्लावासीको गुनासो लिएर जाने अवस्य पनि यसको सकरात्मक कुरा हुम्लावासीका लागि आउने समेत उनले सुनाए । यसअघि अनुरोध पत्र सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीले पढेर सुनाएका थिए । अनुरोध पत्रमा सिमकोट गाउँपालिकाका अध्यक्ष भण्डारी, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावल, नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा, नेपाली काँग्रेसका कावा सभापति कैलाश भण्डारी , एमाले अध्यक्ष ज्ञानी बुमी, माओवादी केन्द्रका सचिव धर्मराज बोहरा, राप्रपा अध्यक्ष बिकास महत र पत्रकार महासंघका अध्यक्ष राजन रावतले जिल्लावासीको तर्फबाट हस्ताक्षर गरेका छन् ।
























