
सि.टा. समाचारदाता
सिमकोट । घरको आर्थिक अवस्था कमजोर भएपछि उपचारबाट बञ्चित हुनु परेकी मगी जैसीलाई अस्पताल लैजान स्पेनकी एक नेपाली युवतीले सहयोग गरेकी छन्। स्पेनमा बसोबास गर्ने नेपाली युवती विदूषी बानियाँले आफ्नो जन्मदिनका अवसरमा जैसीलाई २० हजार रुपैयाँ सहयोग गरेकी हुन्।
स्थानीय स्वास्थ्यचौकीले उपचारका लागि जिल्ला सदरमुकाम वा नेपालगञ्ज जान सल्लाह दिए पनि रकम अभावले सम्भव हुन नसकेको समाचार देशसञ्चारमा प्रकाशित भएको हो। हुम्ला जिल्ला सर्केगार्ड गाउँपालिका– ७ की जैसी लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रस्त थिइन्।
आर्थिक सहयोग प्राप्त भएकाले अब बिरामी आमालाई सुर्खेत वा नेपालगञ्ज लगेर उपचार गर्ने छोरी जसकला जैसीले बताइन्। जसकलाका अनुसार विदूषीले २० हजार र अन्य एक सहृदयीले पनि १० हजार रुपैयाँ सहयोग गरेकाले अब उपचारका लागि लैजान सहज हुने भएको छ।
मगी जैसीलाई एक हप्ता अगाडि बिरामी भएर स्वास्थ्य चौकीमा उपचार गर्न लगिएकोमा स्वास्थ्य चौकीले उपचार हुन नसक्ने भन्दै जिल्ला बाहिर रिफर गरेको थियो।
गाउँपालिकालाई जिल्ला अस्पताल वा जिल्ला बाहिर लैजानका लागि एम्वुलेन्सको ब्यवस्था गर्न आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको बिरामीका आफन्तको गुनासो छ।
३९ वर्षकी जैसीको ग्यास्टिक बिग्रेर पेट दुखिरहने र हिँडडुल गर्नै नसक्ने अवस्थामा हाल घरमै धामीझाँक्रीबाट उपचार भइरहेको छ।
बिरामीको अवस्था जटिल भएको र थप उपचारका लागि सम्भव भए जिल्ला बाहिर र नभए जिल्ला अस्पतालसम्म लैजान सिफारिस गरिएको रोडीकोट स्थास्थ्य चौकीका स्वास्थ्यकर्मीले बताएका थिए।
स्वास्थ्य चौकीले बाहिर लैजान रिफर गरे पनि उपचार अभावले सम्भव हुन सकेको थिएन।























